खरसाङ: खरसाङ नगरपालिका अन्तर्गत रहेका झोडा-नालाहरू बर्खा लाग्न अघि नै सफा गर्ने कार्य शुरू गरेको छ। खरसाङ बजारको सफाई कार्य निरन्तर गरिरहेको भए पनि शहर क्षेत्रका कतिपय असभ्य मानिसहरूले अझै पनि रातको मौका छोपेर झोडा नाला बाटो किनारातिर मैला फ्याँलेर खरसाङकै कुसंस्कार झल्काउने कार्य गरिरहेको नगरपालिकाले जनाएका छन्। यसै क्रममा शुक्रबार खरसाङ नगरपालिकाको तर्फबाट बजारको नाला झोडाहरु सफाई कार्य शुरु गरिएको छ। खरसाङ नगरपालिका अन्तर्गत मंगलबार स्कट मिशन स्कूल नजिक रहेको नाला झोडाहरु सर सफाई गरिएको छ। उक्त नाला झोडाहरुको सफाई कार्य खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधान र सेन्ट्री इन्स्पेक्टर रमेश सुब्बाको अगुवाईमा सञ्चालन गरिएको छ। उक्त सर सफाई विषयमा खरसाङ नगरपालिकाको सेन्ट्री इन्स्पेक्टर रमेश सुब्बाले पत्रकारलाई जानकारी गराउँदै भने, मनसुन आउन अघि नै खरसाङ नगरपालिकाले बजारको नाला झोडाहरु सर सफाई गर्ने कार्य शुरू गरेको छ। नगरपालिकाले बजारको नाला झोलाहरु सफाई गर्नलाई प्राथमिकता दिएर कार्य थालेको छ। रमेश सुब्बाले नगरपालिकाको निर्मल बन्धुहरुले लगातार रुपमा सफाईको कार्य गरिरहेको जानकारी गराउँदै यस कार्यमा स्थानीय नागरिकहरुले पनि सचेत भएर सर सफाई गरिदिने आह्वान् गरेका छन्।

उनले खरसाङ बजारलाई सफा राख्न नगरपालिकालाई स्थानीय जनताले पनि सहयोग गरिदिने आह्वान् गरेका छन्। उनले बजार सफा राख्नलाई नागरिकहरुले पनि आफ्नो उत्तरदायित्व सम्झेर सर सफाईमा सहयोग गरिदिने निवेदन पनि गरेका छन्।