मुख स्वास्थ्यमा बेवास्ता उपचार पनि ढिला

IMG-20250321-WA0196

सरोज ढुङ्गेल

काठमाडौँ: सरकारी अस्पतालमध्ये मुख स्वास्थ्यको सबैभन्दा सस्तो राम्रो उपचार हुने वीर अस्पतालको ओपिडीमा मात्र दैनिक दुई सय जना नयाँ बिरामी दाँतसम्बन्धी समस्या लिएर आउने गरेका छन्। 
पुराना दाँतका बिरामीसमेत जोड्ने हो भने वीरमा दैनिक तीन सय जनाभन्दा बढी दाँतको समस्या लिएर आउने गरेका छन् तर त्यहाँ समयमा उपचार नहुँदा बिरामी मर्कामा पर्ने गरेका छन्। सुर्खेतदेखि दाँतको उपचार गर्न आउनुभएको जय कुँवरलाई वीरमा दाँत भर्न (आरसिटी) का लागि छ महिनापछिको समय दिइयो। उहाँलाई छ महिनासम्म काठमाडौँमा बसेर दाँतको उपचार गर्न कठिन छ। दाँत अत्यधिक दुखेकोले वीरमा आउनुभएका कुँवरलाई चिकित्सकले नदुख्ने एन्टिबायोटिक औषधी दिएर छ महिनापछिको पालो दिएर घर पठाइदिए। वीरमा समयमै दाँतको उपचार गर्न नपाई फर्कने जय जस्ता सयौँ बिरामी छन्। 
वीर अस्पतालका दन्तरोग विभागीय प्रमुख डा. प्रमोदकुमार कोइरालाले दाँत भर्न (आरसिटी) का लागि छ महिना कुर्नुपर्ने जानकारी दिँदै बिरामीको अवस्था हेरेर छिट्टै पनि समय दिन सकिने बताउनुभयो। “सामान्यतया न्यूनतम आरसिटीका लागि छ महिना कुर्नै पर्छ,” डा. कोइरालाले भन्नुभयो, “वीरमा बिरामीको अत्यधिक चापले गर्दा समयमा उपचार हुन सक्दैन।” उहाँका अनुसार वीर अस्पतालमा दाँत विभागमा पाँच प्रकारको उपचार हुन्छ। बिरामीहरू सुरुमा स्क्रिनिङ गर्ने शाखा ओपिडीमा जाने गर्छन्। ओपिडीबाट बिरामीको समस्या हेरेर सर्जरी विभाग, दाँत मिलाउने, दाँत निकाल्ने, आरसिटी, सामान्य भर्ने जस्ता विभागमा पठाइन्छन्। यहाँ दाँत निकाल्ने काम छिटो हुने भए पनि आरसिटी तथा सर्जरी जस्ता समस्याका लागि समय लाग्ने उहाँ बताउनुहुन्छ। 
पछिल्लो समय मुखको क्यान्सरका बिरामी बढिरहेको जानकारी दिँदै उहाँले पेइङ ओपिडीमा आएर पनि बिरामीले परीक्षण गराउन सक्ने बताउनुभयो। पेइङमा भने बिरामीले सामान्यभन्दा डेढ गुणा बढी शुल्क तिर्नुपर्ने हुन्छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सरकारी जुनसुकै अस्पतालमा बिरामीको चापका कारण ढिला पालो आउने गरेको बताउनुभयो। उहाँले मुख स्वास्थ्य नीतिलाई कार्यान्वयन गर्न नयाँ रणनीति आए पनि त्यसको पूर्ण कार्यान्वयनमा समस्या भएको बताउनुभयो। मानिसहरूले मुख स्वास्थ्यलाई ध्यान नदिँदा समस्या भएको भन्दै उहाँले बिरामी खप्नै नसक्ने अवस्थामा मात्र अस्पताल जाने गरेको बताउनुभयो। मुख स्वास्थ्यको जनशक्ति पनि कम छ। सरकारले नीतिगत रूपमा मुख स्वास्थ्य समस्यालाई समाधान गर्ने प्रयत्न गरेको उहाँको भनाइ छ। 
सरकारीमा मात्र नभएर निजी अस्पतालमा पनि दाँतको समस्या लिएर जाने बिरामी धेरै छन्। काठमाडौँ मेडिकल कलेजकी प्राध्यापक तथा दन्तरोग विशेषज्ञ डा. शैली प्रधानले दाँत समस्या लिएर केएमसी अस्पतालमा पनि दैनिक १५० बिरामी आउने गरेको बताउनुभयो। उहाँ सानैदेखि दाँतको हेरचाह नगर्दा दाँतका रोगी बढिरहेको बताउनुहुन्छ। 
यसैबिच बिहीबार विश्व मुख स्वास्थ्य दिवस मनाइएको छ। प्रत्येक वर्ष २० मार्चका दिन विश्व मुख स्वास्थ्य दिवस मनाउने गरिन्छ। ‘स्वस्थ्य मुख, सकारात्मक सोच’ भन्ने नारासहित मुख स्वास्थ्य दिवस मनाइएको छ। विश्व स्वास्थ्य सङ्गठनको अध्ययन अनुसार नेपालमा एकदेखि नौ वर्ष उमेर समूहका करिब ५१.२ प्रतिशत बालबालिकामा दाँत किराले खाने रोग लागेको छ। १५ वर्षभन्दा माथिको उमेर समूहका करिब १४.८ प्रतिशत जटिल प्रकृतिका गिजा रोगबाट प्रभावित रहेको देखिएको छ। नेपालमा प्रतिएक लाख जनसङ्ख्यामा ३.४ व्यक्ति ओठ र मुखको क्यान्सरबाट प्रभावित छन्। 
   

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement