गान्तोक: गत ८ मार्चको दिन दक्षिण सिक्किमको जोरथाङ र मल्ली बीच वाहन दुर्घट्नामा परेर मृत्यु भएका एक व्यक्तिको शव १० दिनपछि हिजो फेला परेको छ। माछा मार्न रङ्गीत नदीमा गएका कुनै एक व्यक्तिले माझिटार आउटपोस्टमा सूचना दिएपछि पुलिसले कुहिएको अवस्थामा शवलाई आफ्नो अधीनमा लिएको छ। डान्स एनर्जी पावर हाउस मुन्तिर रङ्गीत नदीमा केही कुरा कुहेको तिखो गन्ध आएपछि ती मछुवारेले नजिक गएर हेर्दा एक युवकको शव देखेका थिए। उल्लेखनीय छ, त्यसै ठाउँमा 8 मार्चको दिन एउटा ट्रक दुर्घट्ना भएको थियो जसमा चालक बिट्टु दासको मृत्यु भएको थियो।
ट्रक दुर्घट्ना भएकै ठाउँमा फेरि एउटा शव फेला पर्दा जोरथाङ पुलिसले यस घट्नालाई ८ मार्चको ट्रक दुर्घट्नासित जोड़ेर जाँच अघि बड़ाएको छ। यसै क्रममा पुलिसलाई प्रारम्भिक जाँचमा थाहा लागेअनुसार ८ मार्चको दिन मल्लीदेखि जोरथाङतिर गइरहेको ट्रकमा चालकलगायत अझ एकजना व्यक्ति सवार थिए। तर, दुर्घट्नास्थलबाट पुलिसलाई चालक बिट्टु दासको मात्र शव फेला परेको थियो। त्यस समय कसैलाई पनि ट्रकमा अझै एक व्यक्ति सवार थिए भन्ने कुरा थाहा थिएन। अर्कोतिर धेरै खोज्दा पनि त्यस समय पुलिसलाई दुर्घट्नास्थलबाट चालक बाहेक अरु कसैको शव फेला परेको थिएन।
पुलिसको जाँचमा त्यस दिनको ट्रक दुर्घट्नामा मृत्यु हुने तथा हिजो शव फेला परेको व्यक्तिको परिचय नाम्ची जिल्लाको मल्ली गुम्बा डाँड़ा निवासी ३६ वर्षीय श्याम कुमार राईको रुपमा प्राप्त भएको छ।