दृढ़ संकल्प र इच्छाशक्तिले सिल्भर म्याडल हत्याउन सफल शुभम विश्वकर्मा

00-7541a198-b0fd-4559-9ccb-1bb1e3e1d02b

कालचिनी: शुभम विश्वकर्मा अहिले दिव्यांग समाजको निम्ति प्रेरणाको दह्रो श्रोत बन्न पुगेका छन्। शुभम जन्मजात दिव्यांग होइनन् तिनलाई दुर्घटनाले दिव्यांग भएर जिउन परेको बताउँछन् पिता मोहन विश्वकर्मा। कालचिनी खण्डको हाँसीमारा संलग्न साताली चियाबारी निवासी पिता मोहन विश्वकर्मा र माता अनिता विश्वकर्माको माइला छोरो शुभम विश्वकर्माको विगत २०२० को दशैँको टीकाको ठीक पूर्वसन्ध्यामा अर्थात नवमीको राती निमती मोड़ क्षेत्रमा वाहन दुर्घटना परेर रीढ़को हड्डीमा चोट लागेर अस्पतालमा उपचाराधीन थियो।

अस्पतालबाट छुट्टी दिएता पनि कलकलाउँदो उमेरका शुभम घरको बेडमा प्रायः डेढ़ वर्षसम्म दुवै खुट्टा अचल भएर बस्न परेको थियो भने व्हील चेयरको सहारामा शुभम विश्वकर्माको दिनर्चया बित्दै आइरहेको थियो। तर यसबीच शुभमका साथी भाईहरु एवं माता-पिताको प्रोत्साहनले घर नजीकैको सानो मैदानमा शुभमले व्हील चेयरमा बसेर ब्याडमिन्टन अभ्यास गर्न थालेको थियो।

यसबीच कलकत्ताको सल्टलेक स्थित साई स्पोर्ट्स कम्प्लेक्समा दिव्यांगहरुको निम्ति गत २ सेप्टेम्बरदेखि ४ सेप्टेम्बरसम्म सम्पन्न प्यारा ओलम्पिक खेलमा अंशग्रहण गर्न पुगेका शुभम विश्वकर्माले अन्ततः सिल्भर म्याडल प्राप्त गर्न सफल भएको थियो। शुभम कोलकाताबाट फर्केर आएपछि हर्षविभोर हुँदै भन्छन व्हील चेयरमा बसेर ब्याडमिन्टन खेलमा यसरी सिल्भर म्याडल जित्न असम्भव लागेको थियो तर दृढ़ संकल्प लिएर खेलको मैदानमा ओर्लिन्दा साँच्चै नै मैले गर्न सक्दो रहेछ भन्ने विश्वास उत्पन्न भएको र आगामी दिसम्बर महीनामा असमको गुवाहाटीमा सम्पन्न हुने ब्याडमिन्टन प्रतियोगितामा अंशग्रहण गर्न अभ्यास शुरु गरेको बताएका छन्। शुभमले आफू मानसिक अनि शारीरिक रूपले तयार रहेको तर यसमा ब्लक औ जिल्ला प्रशासनको मदत दिए धेरै सहारा हुन्थ्यो भन्दै केवल घरको खर्चमा आउटडोर खेलमा अंशग्रहण गर्न नसकिने अवस्था भएकोले सबैले साथ दिए अवश्यै राम्रो प्रदर्शन गर्ने जनाएका छन्।

छोरा शुभम विश्वकर्माको इच्छाशक्तिलाई हाम्रो साथ रहेको र यसमा सरकारी मदत पाए धेरै सहारा हुने र व्हील चेयरबाट छोरालाई चाँढ़ै दुई खुट्टामा छोरालाई उभेको हेर्ने चाहना रहेको पिता मोहन विश्वकर्माले जनाएका छन्। पिता मोहन विश्वकर्मा नेपाली साहित्यानुरागी एवम् विभिन्न संघ संस्थाहरुसित आबद्द रहँदै आईरहेको र स्वयं एकजना सामाजिक कार्यकर्ता हुनाले व्हील चेयरमा बसेको छोरालाई जीवन हारेर बसेका अन्यान्य दिव्यांगहरुलाई ठूलो साहस प्रदान गर्ने उदाहरण कायम गर्ने कार्य गरेकोले यसघरि सबै तप्काबाट शुभकामना प्राप्त गरीरहेका छन्। यद्यपि पिता मोहन विश्वकर्माले छोरालाई आउँदो दिनमा दिव्यांग वर्गको खेलमा पठाउन हरसम्भव चेष्टा गर्ने र यसमा मानसिक, सामाजिक र आर्थिक साथको पनि खाँचो रहेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement