खरसाङ: पंखाबारी लंगभ्यु अम्बटे समष्टिको लङ्भ्यु चियाबारीमा आगलागीमा परी क्षतिग्रस्त क्षेत्रको कार्यकारी सभासद कल्पना प्रधानद्वारा आज स्थलगत निरीक्षण गरेका छन्। उनले हिजो लंगभ्यु चियाबारीमा मा लागेको आगोले क्षतिग्रस्त भएको चियाबारीको जायजा लिन लंगभ्यु चियाबारीको भ्रमण गरिन्। भ्रमणपछि उनले क्षतिग्रस्त चियाबोटहरूको अवस्था देखेर आफूलाई धेरै दु:ख लागेको साथै हिजो लंगभ्यु चियाबारीमा आगो लागेको खबर पाउन साथ उह महकुमा शासक खरसाङ साथै अग्निशमन विभाग खरसाङलाई पनि सम्पर्क गरेको जनाइन्। विगत वर्षतिर पनि सुख्खा महिनाको सिजनमा आगलागीको सानो तिनो घटना भएको तर यति ठूलो आगलगीको घटनाले चियाबारीको एक सयदेखि डेढ सय हेक्टर जति चियाबारी पूर्ण रूपले नष्ट भएको जनाइन्। यदि चियाबारीमा सूचारू रूपमा कार्य भइरहेको भए फायर अफ लाइनको कार्यले चियाबारीलाई यति ठूलो आगलागीको घटनाबाट जोगाउन सकिने थियो तर विगत १७ दिनदेखि ‘नो वर्क नो पे’ को नोटिस मालिक पक्षबाट टालेको हुँदा चियाबारीमा कार्य पूर्ण रूपले बन्द रहेको पनि उनले जनाइन् र मालिक पक्षलाई ‘नो वर्क नो पे’ को नोटिस फिर्ता लिई चियाबारी खोलि चियाबारीको कार्य सूचारु रूपले सञ्चालन गरिदिने उनले अनुरोध गरिन्। उनले यति ठूलो आगलागीलाई नियन्त्रण गर्न सहयोग गर्ने अग्निशमन विभाग, पुलिस प्रशासन, सन्त मेरीज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, उप-प्रधान सन्तोष तामाङ साथै सम्पूर्ण ग्रामवासीहरूप्रति धन्यवाद टक्राइन्। आजको भ्रमण अवधिमा उनीसंग पञ्चायत सदस्य सुव्रता लकान्द्री, समष्टि प्रचार प्रसार सचिव जिनोद परियार, ट्रेड यूनियन लंगभ्यु युनिट सभापति नितु थापा, सह सचिव सरस्वती गोले, नारी शक्ति प्रतिनिधिगण साथै युवा शक्ति प्रतिनिघिगणको उपस्थिति रहेको थियो।