सोनादा: सोनादा डिग्री कलेजलाई फोहोरमुक्त अथवा फोहोर शून्य (जिरो वेस्ट) बनाउने अभियान शुरू भएको छ। सोनादाको आठ माईलस्थित टीडीको विशेष सक्रियतामा कलेजको वेस्ट म्यानेजमेन्ट कमिटी र आईक्युएसी, एनएसएस, एनसीसी लगायत सम्पूर्ण शिक्षण- अशिक्षणकर्मी र विद्यार्थीहरुको तत्परतामा बुधबार कलेज परिसरमा सफाई अभियान कार्यक्रम सम्पन्न भयो। विशेष गरी टीडीले कलेजको विद्यार्थीहरुलाई वेस्ट म्यानेजमेन्ट सम्बन्धी धेरै महिना अघिदेखि प्रशिक्षणहरु दिँदै आइरहेका छन्। ती प्रशिक्षित विद्यार्थीहरूको नेतृत्वमा समूह समूहमा कार्य विभाजन गरी कलेज परिसरमा थुप्रिएका विभिन्न प्रकारका फोहोर मैलाहरूलाई, जताततै फालिएका प्लास्टिकहरुलाई एकत्र गरेर अलग-अलग रूपमा छुट्याएर त्यसलाई टिडीद्वारा विभिन्न प्रविधिद्वारा पुन: प्रयोग योग्य बनाउनलाई टिडीसमक्ष पुर्याइने काम भयो। यस सफाई अभियानमा क्विन्टल क्विन्टलको हिसाबमा फोहोर जम्मा गरिएको थियो। दैनिक जीवनमा प्रयोगमा ल्याउने यस्ता विविध सामग्रीहरु तथा प्लास्टिकका सामग्रीहरु जताभावी फाल्नाले भविष्यमा त्यही चीजले नै ठूलो दुर्गन्ध र दुर्घटनाको रूप लिन सक्छ। त्यसैले समय छँदै ती फ्याँकिने सामग्रीहरुलाई सठीक जग्गामा संग्रह गरेर टिडीजस्ता पर्यावरण संरक्षण सम्बन्धी काम गरिरहेका संस्थालाई हस्तान्तरण गर्न सकिए ती फोहोर सामग्रीहरूबाटै फेरि नयाँ प्रयोगमा ल्याउन सकिने समानहरु तयार गर्न मद्दत हुने थियो भनी टिडीको पक्षमा जनमानसलाई निवेदन गरिएको छ। स्मरण रहोस् सोनादाको आठ माईलस्थित टिडीले सोनादा डिग्री कलेजका विद्यार्थीहरुलाई समय समयमा कलेजमै आई अनि धेरैलाई त्यही आठ माईल नै बोलाएर यस्ता प्रशिक्षणहरु दिई सचेतनाहरु भरिदिएर कलेजलाई फोहोरमुक्त कलेज तथा फोहोर शून्य कलेज बनाउने योजना तयार गरेका छन्। टिडीको यस्तो सराहनीय कार्यलाई कलेजका टिचर इन्चार्ज डा रागिनी थापाले प्रशंसा गर्दै कृतज्ञता जाहेर गरेका छन्। यस सफाई अभियानमा कलेजका सम्पूर्ण शिक्षण -अशिक्षणकर्मीहरू साथै विद्यार्थीवर्गले सक्रियतापूर्वक भाग लिएकोमा सबैप्रति धन्यवाद पनि दिएका छन्। कलेजको परिवेशलाई जिरो वेस्ट बनाउनु सजिलो कुरो होइन अनि यो एकै दिनमा हुने कुरो पनि होइन। यसको लागि कलेजका विद्यार्थीहरु, शिक्षण -अशिक्षणकर्मीहरू लगायत गाउँ-घरका सबै मानिसहरुमा सचेतना र सक्रियता हुनु अति नै आवश्यकता छ।

सबैको हृदयमा आफ्नो परिवेशलाई सदैव स्वच्छ राख्ने सोँच तथा सचेतता सबैको हुनु जरुरी छ। यो केवल टिडी र सोनादा डिग्री कलेजले मात्र सोचेर सम्भव छैन सबैमा यस्ता सचेतना आउन सके अवश्य एकदिन सोनादा डिग्री कलेज मात्र होइन सम्पूर्ण पहाड नै फोहोरमुक्त पहाड (जिरो वेस्ट पहाड) बन्न सक्नेछ भन्दै आज सहभागी विद्यार्थीहरू सबैले कलेजलाई जिरो वेस्ट (फोहोरमुक्त) बनाउने संकल्प लिएका छन्। विद्यार्थीहरुले आफ्नो संकल्प आधारमा अवश्यै व्यवहारिकतामा पनि काम गर्नेछन् भनी आशा गरिएको छ भनी प्राध्यापक मेघनाथ छेत्रीले जानकारी दिएका छन्।