नाम्ची: नाम्ची जिल्लास्तरीय नार्को समन्वय समितिको बैठक नाम्ची जिल्ला प्रशासनिक केन्द्रमा बस्यो। जिल्लापाल अनुपा तामलिङको अध्यक्षतमा सम्पन्न भएको उक्त बैठकमा वरिष्ठ पुलिस अधिक्षक कर्मा ग्याम्छो भोटिया, अतिरिक्त जिल्लापाल, महकुमा अधिकारी लगायत समितिका सदस्यहरूसँगै आवकारी विभाग र सामाजिक कल्याण, वन र शिक्षा विभागका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। बैठकमा नाम्ची जिल्लापाल तामलिङले यसभन्दा अघि सम्पन्न बैठकमा लिइएको निर्णय र त्यसको समीक्षाबारे जानकारी गराइन्। जिल्लापालले समितिका सदस्यहरूलाई सहभागिता भन्दा पनि कार्ययोग्य विकल्पहरूलाई प्राथमिकता दिनुपर्ने आग्रह गरिन्। उनले विभागका अधिकारीहरूलाई आफ्नो कार्यक्षेत्र भित्रका गतिविधिहरूको समयमै प्रतिवेदन पेश गर्ने निर्देश दिँदै यस विषयमा सचेतना अभियानको आवश्यकतामाथि जोड दिइन्। यसबाहेक उनले उच्च जोखिम भएका क्षेत्रहरूमा बढ्दो निगरानी गर्नको साथै गस्ती बढाउने निर्देश दिइन्। नशालु पदार्थ औषधिको नियन्त्रण र शैक्षिक संस्था वा स्वास्थ्य सेवा केन्द्रहरू नजिकै मदिरा बेच्ने व्यापारीहरुविरुद्ध कडा कार्वाही गर्नुपर्ने निर्देश दिइन्। यसका साथै उनले नशामुक्त सिक्किमको लागि जिल्लाका पुनर्वास केन्द्रहरूले गर्दै आइरहेको प्रयासबारे जायजा लिइन्। जिल्लापालले जिल्ला बाल संरक्षण अधिकारीले नशामुक्त केन्द्रहरूको वर्तमान स्थिति र जिल्ला भित्र लागुऔषध प्रयोगकर्ताहरूलाई प्रदान गरिएको परामर्श सेवाबारेमा जानकारी गराइन्। सो अवसरमा नाम्ची जिल्लाका वरिष्ठ एसपीले नाम्ची पुलिसले अहिलेसम्म फेला पारेको नसालु पदार्थ अप्रेलमा महिनामा नष्ट गरिने अवगत गराए। उनले विद्यार्थीहरूलाई नाबालिग किशोर कानूनबारेमा सचेत गर्न र समाजमा नशालु पदार्थ नियन्त्रण गर्न पुलिसहरूमा विश्वास राख्नु पर्ने सुझाउ दिए।