गान्तोक: नाम्ची जिल्लाको घुर्पिसे निम्न माध्यमिक विद्यालयमा नेश्नल डिवार्मिङ दिवस पालन गरियो। नाम्ची जिल्ला चिकित्सा अधिकारी डा. एसएन अधिकारी लगायक प्रधानाध्यापक हायस सुब्बा, डा. बीके चौहानको उपस्थितिमा सम्पन्न पहिलो चरणको डिवार्मिङ दिवस अभियानको उद्देश्य १ देखि १९ वर्ष उमेरका सबै बालबालिकालाई विद्यालय र आँगनवाडी केन्द्रहरूमार्फत जुकाको औषधि खुवाउनु हो। विद्यार्थीहरूको स्वास्थ्य, पोषण स्थिति, शिक्षामा ध्यान केन्द्रित गराउन र उनीहरूको स्वास्थ्यमा गुणस्तरीय सुधारमा ध्यान दिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा डा. एसएन अधिकारीले जुकाको संक्रमणको रोकथाम र उपचारका लागि स्वास्थ अभ्यासहरू अप्नाउनुपर्ने विषयमाथि जोड दिँदै सिक्किमका नानीहरुमा जुकाको संक्रमण रोक्न व्यक्तिगत र समुदाय स्तरमा निरन्तर सहयोगको आवश्यकतामाथि प्रकाश पारे। सोही क्रममा उक्त विद्यालयका प्रधानाध्यापक हायस सुब्बाले विद्यार्थीहरूको स्वास्थ्य स्थितिमा सुधार ल्याउन स्वास्थ्य तथा परिवार कल्याण विभागसँग मिलेर भएको कामको महत्त्वमाथि प्रकाश पारे। यसरी नै नाम्ची जिल्लाका डीआरसीएचओ डा. बीके चौहानले राष्ट्रिय जुका औषधि दिवस मनाउनुको औचित्यबारे सहभागीहरूलाई सचेत गराए। उनले संक्रमणको तरिका र रोकथामका उपायबारेमा अवगत गराए। नाम्ची जिल्लाका सीएनओ श्रीमती विजय लक्ष्मी राईले पनि यस कार्यक्रमबारे बताइन्।