गान्तोक: पर्यटनको लागी साहित्य नाराको साथमा इलाम साहित्य समाज, इलाम नगरपालिका एवं साहित्य कला संगीत प्रतिष्ठानले आयोजन गरेको इलाम साहित्य महोत्सव १०२५ मा सिक्किमका सर्जकहरूले महत्वपूर्ण उपस्थिति दिए। उक्त महोत्सवमा नेपालका साहित्यकार, कवि, लेखक,पत्रकार, अनुवादक र राजनीतिकर्मीहरूको बीचमा भारत र बङ्गलादेशका प्रतिनिधि सर्जक विचारकहरूको उपस्थिति रहेको थियो। दुइ दिनसम्म धारावाहिक रूपमा सञ्चालन गरिएको विभिन्न समयसापेक्ष विषयहरूमाथिको सत्रहरूमा सिक्किमबाट साहित्यकार प्रवीण खालिङले पर्या पर्यटन अबको बाटो विषयमाथि वहसमा सहभागी भएका थिए। जसमा साहित्यले पर्या पर्यटनलाई जोड्ने विषयसितै पर्यापर्यटनको विभिन्न आयमहरूबारे चर्चा गरिएको थियो। यसैगरि सिक्किममा पर्यावरण संरक्षणको दिशामा भइरहेको कार्यबारे मन्तव्य राखेका थिए। सिक्किम र नेपालबीचको मल्टीमोडल कोरिडोरको परिकल्पना र यसका सम्भावना तथा पर्यावरणमा आइपर्ने प्राकृतिक आपदाको बारेमा पनि बहसमा आफ्नो मन्तव्य राखेका थिए। यसैगरि सिक्किमबाट लिम्बू संस्कृति र मुन्दुमबारे कार्य अभ्यास गरिरहेकी सन्ध्या सुब्बा सिङजाङ्गोले मुन्दुम र पर्यावरणको बहसमा वक्ताको रूपमा सहभागी बनेका थिइन्। उनले मुन्दुम प्रकृतिबाटै सिर्जित रहेको र पर्यावरणसित यसको सोझो सम्बन्ध रहेको विषयबारे प्रकाश पार्दै आफ्नो अध्यनको पाटोले देखाएको विचार सम्प्रेषण गरेका थिए। कार्यक्रममा सिक्किमका साहित्यकार टिबी चन्द्र सुब्बालाई साहित्य सम्मान प्रदान गरिएको थियो। अर्कोतिर सिक्किम दार्जीलिङका कविहरू विषयको कविता गोष्ठीमा सिक्किमबाट कवि दावा योञ्जन, पुरण भण्डारी र जीवन कुमार छेत्रीले कविता वाचन गरेका थिए। यसैगरि इलाममा पोयट आइडल सत्रमा सिक्किमे कवि तथा दोस्रो पोयट आइडल सिमियोन सुकिता राईले कविता सुनाएका थिए। यसैगरि दार्जीलिङका कवि विशाल नाल्बो र आरती ठकुरीले कविता सुनाएका थिए। अर्कोतिर कार्यक्रममा सपरिवार उपस्थित दार्जीलिङका सङ्गीतकार चन्दन लोम्जेल, श्रीमती डेजी बराइली, विमोचना लम्जेलले डेजी बराइली नाइटमा उनका कालाजयी गीत प्रस्तुत गरेका थिए। दुई दिने सत्रमा इलाम, पर्यावरण, साहित्य, युद्ध साहित्य, कविताको पहिचान, कला र आध्यात्म, डिजिटल युग र सर्जकको अलमल, आशा र निराशाको राजनीति तथा अन्य विभिन्न समसामयिक विषयमा वहस अनि गम्भीर छलफल गरिएको थियो। इलामको गौतम बुद्ध सभागारमा सम्पन्न महोत्सवको शुरूवात परम्परागत लोक झाँकीको साथमा भानु शालिगबाट कार्यक्रमस्थलसम्म प्रभात फेरिको साथमा आरम्भ भएको थियो। जहाँ प्रबुद्ध साहित्यकार, संगीतकर्मी, राजनीति कर्मी, विद्यार्थी, साहित्यप्रेमी आम मानिस र लोक संस्कृतिकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।