धेरै मात्रामा चियागाछहरु जलेर नष्ट
खरसाङ: खरसाङ महकुमा अन्तर्गत लङ्भ्यु चियाबारीको चौतीस क्षेत्रमा आज भीषण आगलागी भएको छ। मङ्गलबार बिहान प्रायः दश बजीदेखि लागेको आगोले समाचार लेखुञ्जेलसम्म चियाबारीको प्रायः डेढसय हेक्टर चियाका बोटहरू नष्ट गरिदिएको थियो भने धेरै प्रयासपछि पनि आगोलाई नियन्त्रणमा ल्याउन सकिएको थिएन। आगो के कारणले लाग्यो भन्ने थाहा नभए पनि आगो यहाँको चौतीस क्षेत्रबाट लागेको भन्ने जानकारी प्राप्त भएको छ। घटनाको खबर पाएपछि खरसाङ, मतिगढा अनि सिलगढीबाट एक-एकवटा दमकल आएर आगोलाई निभाउन भरमग्दुर प्रयास गरिरहेको भए तापनि आगोले सम्पूर्ण क्षेत्रलाई नै आफ्नो चपेटामा लिएकोले दमकललाई समेत आगो निभाउन निक्कै मुस्किल परिरहेको थियो। स्थानीयवासीहरू पनि आगो निभाउन निस्किएका थिए भने सन्तमेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन पनि बिहानदेखि नै यहाँ उपस्थित थिए।

उनले चौतीस गाउँलाई आगोले क्षति नगरोस् भन्न हेतु आफ्नो निजी तर्फबाट जेसीबी लगाएर वरिपरी क्षेत्रलाई सफा गर्ने कार्य गराए। यस अवधि उनले आफू यहाँ बिहानदेखि नै रहेको औ कमान अनि वरिपरीका गाउँलाई बचाउन सक्दो प्रयास गरिरहेको बताए। उनले अग्निशमन विभागबाट पनि पूर्ण सहयोग प्राप्त भइरहेको तथा खरसाङ खण्ड विकास अधिकारी लगायत विभिन्न विभागीय अधिकारीहरू, चियाबारीका प्रबन्धकहरू, स्थानीयवाहीहरू सबैले आफ्नो सहभागिता दिएर आगोलाई नियन्त्रणमा ल्याउने चेष्टा गरिरहेको भए तापनि अहिलेसम्म पनि पूर्ण रूपले नियन्त्रणमा ल्याउन नसकिएको बताए। लङ्भ्यु चियाबारीका प्रबन्धक अजित पाल सिंहले पनि आगोले चियाबारीको धेरै क्षेत्रलाई नोक्सान पुऱ्याएको जनाए। उनले आगो कसरी लाग्यो भन्नेबारे थाहा नलागे पनि अहिले धेरै हावा आइरहेको हुनाले आगोलाई फैलिन अझ धेर मद्दत पुगेको बताए। उनले आगोलाई नियन्त्रणमा ल्याउन सबैको सहयोग प्राप्त भइरहे तापनि आगोलाई अझसम्म नियन्त्रणमा ल्याउन नसकिएको बताए।

स्थानीय निमा लामाले चियाबारीमा लागेको यस आगोले लङ्भ्युको विकासमा अझ पाँच वर्षपछि धकेलिएको बताए। उनले त्यसै पनि लङ्भ्यु एउटा बिरामी कमान थियो त्यहीमाथि यसरी आगो लागेपछि अब यसको पूर्ति गर्न धेरै समय लाग्ने बताए। स्थानीयवासीहरूले पनि आगो लाग्नुको कारण थाहा नभएको बताए औ यो घटना लङ्भुको निम्ति अत्यन्तै दुःखदायी रहेको जनाए। यता आगोले वरिपरीका गाउँहरूलाई पनि आफ्नो चपेटामा लिन सक्ने आशङ्काले भयभीत बनेको देखिएको छ।