दार्जिलिङ: रंगीत चिया बगानका अप्पर चित्रे पसले संगठनका ४२ जनाले हस्ताक्षर गरेर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापालाई एउटा ज्ञापन पत्र चढाएका छन्। उक्त ज्ञापन पत्रमा रंगीत चिया बगानमा निर्माण भई रहेको पर्खाल रोक्न आग्रह गरिएको जानकारी जीटीए प्रमुख कार्यपाल अनित थापाले आज एक प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। यस विषयमा उनले भनेका छन्, ‘सबैलाई थाहा भएको कुरा हो कि चित्रे चिया बगानमा ठूला ठूला पर्खाल लगाउने कार्य भईरहेको छ। चित्रे बजारमा पर्यटकहरू त्यहाँको मनोरम दृश्य अवलोकन गर्न अनि चिया बगान हेर्न आउँछन्। त्यही पर्खाल निर्माण विरूद्ध आपत्ति जनाउँदै अप्पर चित्रे पसले सङ्गठनका सदस्यहरुद्वारा ज्ञापन पत्र चढाएका छन्। ज्ञापन पत्रमा लेखिएको छ, ‘विगत ५-६ दशकदेखि चित्रे बजार, रंगीत टी. ई. दार्जिलिङका पसल मालिक हौं। हामी हाम्रा बालबालिकाको शिक्षा खर्च उक्त पसलबाटै बेहोर्छौं र हाम्रो जीविकोपार्जनको एक मात्र माध्यम उक्त पसल हो। हामीसँग अर्को कुनै विकल्प छैन।’
उनीहरुले भनेका छन् -‘चिया बगानको दृश्यको आनन्द लिन र चित्रे बजारबाट पहाडहरू हेर्न पर्यटकहरू हाम्रो पसलमा आउँछन्। तर पर्खालको निर्माण कार्यले हाम्रा पसलहरूबाट देखिने दृश्य अवरुद्ध हुनेछ र पर्यटकहरूको अवगमन घट्नेछ। यदि उक्त पर्खाल निर्माण भयो भने हामीसँग हाम्रो पसल बन्द गर्नुबाहेक अरू कुनै विकल्प हुनेछैन।’

त्यसैले उनीहरूले अनुरोध गर्दै भनेका छन् कि रंगीत चिया बगानमा पर्खाल निर्माण कार्य रोक्न आवश्यक कदम उठाइयोस्।