गान्तोक: नेपाली साहित्य परिषदले आफ्नो वार्षिक साधारण सभामा विभिन्न प्रस्तावहरूलाई पारित गरेको छ। परिषदका अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा भएको सभामा साहित्यकार पद्मश्री लीलबहादुर छेत्रीको निधनमा शोक सम्बेदना व्यक्त गरियो। परिषदका महासचिव नीलम न्यौपानेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। सभाले अबोपरान्त सभामा उपस्थित सदस्यहरूको दुई-तिहाई बहुमतले कुनै पनि प्रस्ताव पारित गर्न सक्ने निर्णय लिएको छ। वर्ष १९९३ देखि सङ्गीत, साहित्य र कला विधामा क्रमबद्ध रूपमा वर्षेनी प्रदान गर्न शुरु गरिएको मित्रसेन स्मृति पुरस्कार, अगम स्मृति पुरस्कार र कृष्ण स्मृति पुरस्कार -को नामको अघि कञ्चनजङ्घा जोडेर अर्पण गरिने निर्णय पनि लिइएको थियो। यसरी नै परिषदले नेपाली भाषा मान्यताको इतिहासलाई डिजिटल फर्मेटमा अभिलेखिकरण गर्ने सम्बन्धमा पनि प्रस्ताव पारित गरेको छ। भविष्यमा यस सम्बन्धमा राज्य सरकारको सहयोगबाट परिषद अधीन सिक्किम साहित्य अभिलेखालय स्थापना गरिने निर्णयलाई सभाले समर्थन गरेको थियो। यस अतिरिक्त अध्यक्ष हरि ढुङ्गेलले कनका पत्रिका पुनः प्रकाशनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। सभाले डेभलप्मेन्ट जीवन थिङ मार्ग स्थित परिषद भवन बढ़ोत्तरी निर्माण सम्बन्धी पनि चर्चा गरेको थियो। अर्कोतिर परिषदको हिसाबबारे जानकारी गराउँदै कोषाध्यक्ष जीएस सुब्बाले हाल कोषमा कुल एक करोड़ बाह्र लाख रुपियाँ नगद रहेको पनि जानकारी दिए। सभाको आरम्भमा परिषदका उपाध्यक्ष नविन लामिछाने स्वागत सम्बोधन राखे भने परिषदकी उपाध्यक्ष भक्ति शर्माले धन्यबाद ज्ञापन प्रस्ताव राखिन्।