समष्टिबाट अमन गुरुङ चयन
सोनादा: जीटीए क्षेत्रको युवा प्रतिभाहरुलाई मञ्च प्रदान गर्ने उद्देश्यको साथमा जीटीएको विभिन्न समष्टिहरुमा भईरहेको जीटीए आईडलको अडिशन सोनादा पचेङ समष्टिमा पनि सम्पन्न भएको छ। सोनादा पचेङ समष्टिमा आयोजित जीटीए आईडलको सभाध्यक्षता देवकुमार प्रधानले गरेका थिए र प्रमुख अतिथिको रुपमा वरिष्ठ गायक एंव संगीतकार पेमा लामा उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा वरिष्ठ साहित्यकार डा गोकुल सिन्हा, संगीतकार कर्म ग्याल्छेन उपस्थित रहेका थिए। अतिथिहरुको बाहुलीबाट धुप दीप प्रज्ज्वलनसहित सरस्वती बन्दनाबाट शुरु गरिएको कार्यक्रममा जीटीए आईडलको उद्देश्य र औचित्य विषयमा जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाले वक्तव्य राखेका थिए। यसै कार्यक्रममा सोनादा पचेङ समष्टिमा भएको विकासमूलक कार्यहरूको डकुमेन्ट्रीबाट प्रदर्शन गरिएको थियो। यसै कार्यक्रममा सोनादा पचेङ समष्टिमा रहेका गायक एंव संगीतकारहरु र साहित्यकार साथै समाजसेवीहरुलाई सम्मान जनाइएको थियो। यसको साथै कार्यक्रममा सभासद अनोश थापाको शब्दमा रहेको तथा आयुष लामाको स्वरमा रहेको गीत पनि रिलिज गरिएको थियो। कार्यक्रममा गीत, नृत्य प्रस्तुतिसितै सेक्सोफोनमा धुन पनि प्रस्तुत गरिएको थियो। सोनादा पचेङ समष्टिमा जीटीए आईडलको लागि धेरैले अडिशन दिएका थिए जसमा उत्कृष्ट पाँचजना चयन गरेर लाइभ सांगीतिक प्रस्तुति दिएर एकजना समष्टिबाट चयन गरिएको छ। जीटीए आईडलको लागि सोनादा पचेङ समष्टिबाट अमन गुरुङ चयन भएका छन्। अमन गुरुङले सोनादा पचेङ समष्टिलाई प्रतिनिधित्व गर्दै जीटीए आईडलको अघिल्लो चरणमस जाने भएका छन्। सोनादा पचेङ समष्टिमा सम्पन्न जीटीए आईडलको अडिशन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै क्षेत्रीय सभासद एंव जीटीएको सूचना अनि सांस्कृतिक विभागको कार्यकारी सभासद अनोश थापाले जीटीए आईडलको कार्यक्रमलाई सांगीतिक कार्यक्रमको रुपमा मात्रै नहेरेर एक क्रान्तिकारी पाइलाको रुपमा लिएको बताएका छन्। उनले हाम्रो स्थानीय कलाकारहरुले मञ्च पाउनुपर्छ भन्ने उद्देश्यका साथमा साथै ‘हाम्रो कलाकारहरुलाई कि कालले लान्छ कि नेपालले लान्छ’ भन्ने भनाईलाई केही हदसम्म समाधान गर्नलाई यो जीटीए आईडल शुरु गरिएको जानकारी गराएका छन्। सभासद अनोश थापाले भने, हाम्रो आफ्नै कलाकारहरुलाई मञ्च प्रदान गर्नुपर्छ र हामीले हाम्रै संगीतलाई प्रोत्साहन गर्नुपर्छ भनेर जीटीए आईडल शुरु गरिएको हो। जीटीए आईडलमा युवा कलाकारहरुले मञ्च पाउने र जीटीए आईडलपछि समष्टि उत्सव नामक कार्यक्रम शुरु गरिने अनि यसमा प्रत्येक समष्टिकाे कलाकारहरुलाई मञ्च प्रदान गरिने भएको छ।’
सभासद थापाले अघि भने, ‘सोनादा पचेङ समष्टिमा आयोजित जीटीए आईडलको कार्यक्रममा यस क्षेत्रका स्रष्टाहरुलाई पनि सम्मान जनाइएको छ। यो जीटीए आईडल पहाडमा झण्डाको राजनीतिदेखि वाक्कै भएर संगीतमार्फत् नयाँ भाइभ सिर्जना गरिएको छ।’