नियुक्ति जीटीएको तर्फबाट शहीदलाई श्रदाञ्जली हो- अञ्जुल चौहान
दार्जिलिङ: २००७ देखि यता गोर्खाल्याण्ड आन्दोलन समय शहीद भएका शहीद परिवारका सदस्यहरूलाई जीटीएले नौकरी दिनेछ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष साथै जीटीए प्रमुख कार्यपाल अनित थापाले शहिद दिवस (२७ जुलाईको)मा घोषणा गरेका थिए। त्यही घोषणा अनुसार आज दार्जिलिङको लालकोठीमा आयोजित एउटा कार्यक्रममा १३ शहीद परिवारका सदस्यहरूलाई नियुक्ति पत्र प्रदान गरिएको छ। आज नियुक्ति पत्र प्राप्त गर्ने १३ शहीद परिवारका सदस्यहरुमा शर्मिला शर्मा (शहीद प्रमिला शर्मा), प्रमोद खवास (शहीद नीता खवास), विमल राई (शहीद बिमला राई), बन्दना लिम्बु (शहीद सुनील राई), शिव गुरुङ (शहीद महेश गुरुङ), अन्जना रसाइली (शहीद विनोद शंकर), अर्पना राई (शहीद श्यमाला राई), दिपेश तामाङ (शहीद आशिष तामाङ), उर्गेन तामाङ (शहीद अशोक तामाङ), सपना रसाइली (शहीद सुरज भुषाल), पंकज तामाङ (शहीद दावा भुटिया), प्रमिला तामाङ्ग (शहीद समीर गुरुङ) र दिछेन लामा (शहीद विक्की लामा) आदि सामेल छन्। जीटीए अधीनस्थ ग्रुप सी अनि डीमा आवेदकको शैक्षिक योग्यता अनुसार नौकरी दिइएको छ। नियुक्ति पत्र दिन्दै अंजुल चौहानले भने, “यो सानो कार्य हाम्रो तर्फबाट शहिदलाई श्रदाञ्जली हो।”

जीटीएको कार्यकारी सभासद् रतन थापा भन्छन, “२००७ देखि १७ सम्मका शहीदहरुलाई सम्मान दिने अनित थापाको घोषणा अनुरूप आज हामीले उहाँहरुलाई नियुक्ति पत्र प्रदान गर्नु सकेका छौ। “
एउटा समितिले अध्ययन गरेर नै नियुक्ति दिएको जानकारी दिँदै एक्जिक्युटिभ डिरेक्टर साम्देन डुकपाले भने, “हामीले जति सक्दो यो नियुक्ति तपाईहरु कै घर छेउ दिएका छौ।”
कार्यक्रममा जीटीए प्रमुख कार्यपालका मुख्य सल्लाहकार अमर लामा, सभासद सतीश पोख्रेल, कमल सुब्बा, डेपुटी सभा अध्यक्ष राजेश चौहानको विशेष उपस्थिति रहेको थियो।