सोनादा: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको लुइस जुवली, शिक्षा विभागको मुख्यालयमा बायो मेट्रिक उपस्थिति बही सुरु भइसकेको छ भने अब जिल्ला प्राथमिक शिक्षा पर्षद (ड्रीस्ट्रीक स्कूल बोर्ड ) अनि जिल्ला प्राथमिक पाठशाला निरीक्षक कार्यालयमा बायोमेट्रीक उपस्थिति बहि शुरु हुने भएको छ। यसको साथै सर्कल अफिसमा पनि मशीन जडान हुने भएको छ। त्यसरी नै प्राथमिक पाठशालामा नोट क्याम पनि शुरु हुने भएको छ।
प्राथमिक शिक्षा विभागका प्रभारी सभासद राजेस चौहानले जानकारी दिए अनुसार शिक्षा विभागको मुख्यालय लुइस जुवलीमा बायो म्याट्रीक उपस्थिति बहि शुरु भइसकेको छ भने त्यसरी नै जिल्ला प्राथमिक पाठशाला पर्षद (स्कूल बोर्ड) अनि जिल्ला प्राथमिक पाठशाला परिदर्शक कार्यालयमा पनि देखि बायो मेट्रीक उपस्थिति बहि शुरु हुँदैछ। चौहानले सर्कल अफिसमा पनि बायो मेट्रिक बहि जडान गर्ने विभागीय निर्णय भएको जानकारी गराउँदै भने, “प्राथमिक शिक्षक शिक्षिकाहरू विभागीय कार्य लिएर सर्कल अफिस पुग्दा कार्यालयमा कर्मचारी नभेटेको अथवा समयमा कार्यालय नखोलिएको धेरै गुनासो प्राप्त भएको छ। शिक्षकहरुको समय यसरी नष्ट भईरहेको छ। त्यसैले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अधीनस्थ १३ वटै सर्कल अफिसहरुमा पनि बायो मेट्रीक शुरु हुने निर्णय शिक्षा विभागले लिएको हो।”

जीटीए प्राथमिक शिक्षा विभाग अधीनस्थ ७७८ वटा प्राथमिक पाठशाला छन्। यी पाठशालाहरूमा पनि शिक्षक शिक्षिकाहरुको उपस्थिति दस्तावेज गर्न बायो मेट्रीक उपस्थिति बहि जडान गर्न कोशिष गरिएको थियो। तर कतिपय तक्निकी समस्याले गर्दा सम्भव नभएको तर यसको विकल्प नोट क्यामद्वारा उपस्थिति दर्जा गरिन्दैछ। शिक्षकहरुले बिहान पाठशालाको शुरुवात अनि बेलुकी पाठशालाको बिदाको समय फोटो खिँचेर आफ्नो क्षेत्र(सर्कल)को एसआइ अनि एआइलाई व्हाट्सएप्पद्वारा पठाउँछन्। उनीहरूको उपस्थिति अनि अनुपस्थितिको सम्पूर्ण जानकारी एसआइ अनि एआइले सम्बन्धित अधिकारीलाई जानकारी दिने अहिले नियम अनि अभ्यास छ। बिहान पाठशाला शुरु भएको १५ मिनटभित्र अनि बेलुकी पाठशाला बन्द भएको समय पठाउनु पर्नेछ। यस्तो किन गरिएको? भन्ने प्रश्नमा चौहानले भने, “पाठशालामा शिक्षकहरु अनुपस्थित रहन्छन् भन्ने जस्ता दोष लागिरहन्छ। यस्तो दोषारोपण विभाग अनि शिक्षकहरुप्रति लाग्नु दुःखको कुरा हो। यस्तो उपस्थिति बहिले शिक्षक शिक्षिकाहरु पाठशाला जाँदैनन् भन्ने जुन दोषारोपण लाग्छ त्यो पनि हटेर जानेछ। शिक्षक शिक्षिकाहरुले आफ्नो कर्तव्य राम्ररी नै निभाईरहेका छन्। एक दुइजनाको दुष्टाईले गर्दा सम्पूर्ण शिक्षक शिक्षिकाहरुलाई नै यस्ता लाञ्छनाले पिरोलिरहेकोछ। जुन ठीक होइन।”











