गान्तोक: प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष भीम राउत र जर्नलिस्ट युनियन अफ् सिक्किमका अध्यक्ष सुजल प्रधानको संयुक्त अध्यक्षतामा आज बसेको एक बैठकले केही महत्वपूर्ण मुद्दामाथि छलफल गऱ्यो। बैठकमा हाल सामाजिक सञ्जालहरुमा पत्रकारहरूमाथि व्यक्तिविशेष तथा राजनीतिक दलका कार्यकर्ताहरूद्वारा लगाइएको आक्षेपमाथि चर्चा गरिएको थियो। पत्रकारिताको नाममा कथित सामाजिक सञ्जालकर्मीहरूद्वारा पत्रकार र पत्रकारिताको नाम दुरुपयोग गरिरहेको विषयलाई गम्भीरतासित लिँदै दुवै संस्थाले प्रभावी पदक्षेप लिएको छ। बैठकमा पत्रकारहरूले राखेका गुनासो र सुझाउहरूलाई केन्द्र गरेर सर्वसम्मतिले महत्वपूर्ण प्रस्तावहरु पारित गरेको छ। यसअन्तर्गत अबउसो कार्यक्रम आयोजक समितिले कुनै पनि कार्यक्रमको समाचार कभरेजका लागि प्रेस क्लब अफ् सिक्किम र जर्नलिस्ट युनियन अफ् सिक्किमलाई आधिकारिक पत्राचार गर्नुपर्नेछ। यस सम्बन्धमा दुवै संस्थाले मुख्यमन्त्री कार्यालय, विभिन्न सरकारी विभाग, विभिन्न राजनैतिक दल तथा सङ्घ-संस्था अनि आईपीआर विभागलाई संयुक्तरूपमा पत्राचार गर्नेछ। प्रेस क्लब अफ् सिक्किम र जर्नलिस्ट युनियन अफ् सिक्किमले संस्थाका सदस्य रहेका पत्रकारहरूको मात्र सुरक्षा र सहयोगको जिम्मेवारी लिनेछ। दुई संस्थाका सदस्यहरूले संस्थाको नियम र पत्रकारिताको मर्यादाविपरित अनि पत्रकारिताको गरिमामा आँच आउने कार्य गरेको प्रमाण पाइएमा दुवै संस्थाले अनुशासनात्मक कारबाही गर्ने प्रस्ताव पारित गरिएको छ। यसका लागि संस्थाले झट्टै अनुशासन कारबाही समिति गठन गर्ने निर्णय गरेको छ। सिक्किमका शैक्षिक संस्थानहरूमा अध्ययनरत् विद्यार्थीहरू पनि प्रेस कार्ड लगाएर पत्रकार हुँ भन्दै विभिन्न कार्यक्रमहरूतिर आउन थालेको गुनासो आएपछि दुवै संस्थाले यस विषयलाई संज्ञानमा लिँदै अबउसो यस्तो पाइएमा सम्बन्धित शैक्षिक संस्थाका प्रमुख तथा जिल्लापाललाई पत्राचार गर्ने निर्णय लिएको छ। कतिपय सरकारी कर्मचारीसमेतले प्रेस कार्डको दुरुपयोग गरिरहेको उजुरी आएको हुनाले अबउसो त्यसो गरेको पाइएमा सम्बन्धित विभागका सचिवलाई पत्राचार गरिने भएको छ। अबउसो राजनैतिक दल वा सङ्घ-संस्थाहरूले कुनै पनि कार्यक्रममा पत्रकारहरूलाई निमन्त्रणा गर्दा मूलधारका पत्रकार र पार्टीका सोसियल मिडियाकर्मीहरू छुट्याउनका लागि दुवै समूहलाई रिपोर्टिङ गर्न भिन्नाभिन्नै स्थान सुनिश्चित गरिदिन आग्रह गरिनेछ। बैठकले हाल शोसल मिडियामा विभिन्न राजनीतिक दलका कार्यकर्ता एवं व्यक्तिविशेषद्वारा मूलधारका पत्रकारहरूको मर्यादामा चोट पुग्ने किसिमका आक्षेप र लाञ्छनाहरू लगाइरहेको कुरालाई पनि दुवै संस्थाले गम्भीरतापूर्वक लिएको छ। अबउसो मूलधारका पत्रकार र प्रेस कार्डधारक कथित मिडियाकर्मीलाई एकैठाउँ मुछेर यस्ता गम्भीर आक्षेपहरू लगाउन बन्द गरिनुपर्छ भनी दुवै संस्थाले प्रस्ताव ग्रहण गरेको छ।