गान्तोक। राज्यका शहरी विकास मन्त्री एवं एसकेएम पार्टी महासचिव अरुण उप्रेतीको बाहुलीबाट आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको भ्रातृ संगठन सामाजिक सेवा प्रकोष्ठको मुख्यालय आज तादोङस्थित गैरी गाउँमा उद्घाटन गरियो। यस कार्यक्रममा तादोङका विधायक जीटी ढुंगेल, सामाजिक सेवा प्रकोष्ठका उपाध्यक्ष प्रभारी एवं विधायक एम प्रसाद शर्मा, प्रकोष्ठका उपाध्यक्ष मिंगमा ल्हमू भोटिया, प्रकोष्ठका पूर्व जिल्ला अध्यक्ष रेखा थापा, राज्यस्तरीय प्रमुख समन्वयक एसपी मोक्तान लगायत प्रकोष्ठका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्य अतिथि अरुण उप्रेतीले एसकेएम पार्टीको मूल संगठन नै सामाजिक सेवा प्रकोष्ठ रहेको बताए। प्रकोष्ठले पार्टीको सबै संगठन अनि कार्यकर्तालाई साथमा लिएर हिँड्न सक्ने क्षमता राख्छ भने प्रकोष्ठका कार्यकर्ता र पदाधिकारीहरूले गर्दै आएको सेवा कार्यको खुलेर प्रशंसा गरे। समाजमा, गाउँघरमा कसैमाथि आइपरेको दु:खमा सहयोग पुऱ्याउने दायित्व सामाजिक सेवा प्रकोष्ठको हो भन्दै उनले सेवा गर्ने अवसर पाउँदा नै मानिसलाई आनन्द अनि मीठो निद्रा आउने बताए। मन्त्री अरुण उप्रेतीले प्रकोष्ठका लागि आवश्यक परेको खण्डमा पूर्ण सहयोग गर्ने वचन पनि दिए।