खरसाङ: जीटीए उद्योग अनि पीडब्ल्युडी विभागको कार्यकारी सभासद रतन थापाले आज खरसाङको कटरेलीस्थित सृष्टि हेण्डलूम उद्योगको निरीक्षण भ्रमण गरेका छन्। उनीसित खरसाङ देवराली सभासद तथा खरसाङ क्षेत्रका एमओडी सभासद श्याम शेर्पा पनि उपस्थित रहेका थिए। दुवै सभासदद्वारा यहॉंको कटलेरीमा सञ्चालित सृष्टि हेण्डलूम्सको भ्रमण गरेका छन्। खरसाङको कटलेरीमा धेरै वर्षदेखि सञ्चालित सृष्टि हेण्डलूम्स जीर्ण अवस्थामा रहेर पनि कटलेरी भवनमा सञ्चालन भइरहेको छ। जीर्ण अवस्थामा रहेको भवनको कारण यहाँ कार्यरत् कर्मचारीहरूले विविध प्रकारको समस्या झेलेर यो हेण्डलूम्स सञ्चालन गरिरहेका छन्। हेण्डलूम्समा कार्यरत कर्मचारीहरूको समस्या बुझ्न अनि हस्त उद्योगलाई कसरी बड़ावा दिन सकिन्छ भन्ने उद्देश्यले सभासदद्वयले भ्रमण गरेको बताइएको छ।

सभासदहरूको साथमा उद्योग विभागकी कार्यकारी निर्देशक दावा फेन्सो भोटिया, डीआईसीका महाप्रवन्धक प्रणाम विश्व अनि उद्योग विकास अधिकारी पारस लिम्बु अनि अन्यान्य सामेल थिए। उक्त हेण्डलूम्सको बारेमा बताउदै कार्यकारी सभासद रतन थापाले भने, यो पुरानो घरमा सृष्टि हेण्डलूम्स सञ्चालन भइरहेको रहेछ। हामीले भ्रमणको अवधिमा यो घरको अवस्था अति जीर्ण रहेको पायौं। पानी चुहिरहेको अवस्थामा यहॉं हेण्डलूम्स सञ्चालन भइरहेको रहेछ। यहॉं झ्याल-ढोका समेत रहेन रहेछ। विशेष जीटीए प्रमुख अनित थापाको निर्देशमा हामी यहॉं निरीक्षण भ्रमणमा आएका हौँ। यो भवनको अवस्थालाई सुधार गर्न हामीले निर्णय लिएका छौं। पहिला हामी यो भवनको जिर्णोद्धार गर्नेछौं।

आज भ्रमणको रिपोर्ट हामी जीटीए प्रमुख समक्ष राख्नेछौं। अनि चॉंड़ै नै भवन जिर्णोद्धारको कार्य शुरू गर्नेछौं। सृष्टि हेण्डलूम्सकी अध्यक्षा अनु प्रधानले भनिन्, धेरै वर्षदेखि यो जीर्ण अवस्थाको भवनमा हामीले हेण्डलूम्स सञ्चालन गरिरहेका छौं। यस भवनमा पानी चुहेर, पैह्रो गएर हामी धेरै समस्यामा छौंँ। पानी चुहेकोले हाम्रो सामनहरू बिग्रिरहेको छ। हाम्रो यी गुनासो सुनेपछि सभासदद्वय अनि अधिकारीहरू यसरी भ्रमणमा आएका छन्। यसरी सभासद अनि अधिकारीहरूले निरीक्षण भ्रमण गरेपछि चॉंड़ै भवनको मरमति गरिदिने छन् भन्ने हामीलाई आशा लागेको छ।