सोनादा: जर्जियन एफसी कालेबुङले भूतपूर्व सैनिक वेलफेयर एसोसिएसन पचेङ शाखाको आयोजनामा निम्न सोनादाको दुबे खेल मैदानमा भईरहेको सिल्भर जुबली नक आउट नगदराशि फुटबल टुर्नामेन्टको उपाधि जितेको छ। शनिबार भएको फाइनल खेल गढवाल राईफल्स र जर्जियन एफसी कालेबुङमाझ सम्पन्न भएको छ। यस फाइनल खेलमा जर्जियन एफसी कालेबुङले गढवाल राईफल्सलाई ३-० को अन्तरले सजिलै जितेर उपाधि जितेको छ। शनिबार भएको फाईनल खेलमा मुख्य अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा क्षेत्रीय सभासद अनोश थापा, लोवर सोनादा ग्राम पञ्चायतको पञ्चायत प्रधान रेखा तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। यस फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफीससहित डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिएको छ। भूतपूर्व सैनिक वेलफेयर एसोसिएसन पचेङ शाखाको रजत वर्ष अर्थात् २५ वर्ष पुगेको अवसरमा गत १९ जनवरीदेखि निम्न सोनादा पचेङको दुबे खेल मैदानमा सिल्भर जुबली नक आउट फुटबल टुर्नामेन्ट शुरु भएको थियो।यस फुटबल टुर्नामेन्टमा विभिन्न स्थानहरुबाट जम्मा २० वटा टिमहरुले सहभागिता जनाएका थिए।

यस फुटबल फाइनल खेलमा भूतपूर्व सैनिक वेलफेयर एसोसिएसनको तर्फबाट गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापालाई सम्बर्ध्दना पनि जनाएका छन्। यस फुटबल टुर्नामेन्टको फाइनल खेल विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भूतपूर्व सैनिक कल्याण वेलफेयर एसोसिएसन पचेङ शाखाको सभापति अननेरी कप्तान एलबी राईले भूतपूर्व सैनिक वेलफेयर एसोसिएसन पचेङ शाखाको आयोजनामा सिल्भर जुबली नक आउट फुटबल टुर्नामेन्ट गत १९ जनवरीदेखि आयोजना गरिएको र यस फुटबल टुर्नामेन्टमा विभिन्न स्थानहरुबाट जम्मा २० वटा टिमहरुले सहभागिता जनाएका जानकारी गराएका छन्।

उनले यस फुटबल टुर्नामेन्टमा विशेष सहयोग गर्ने गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाप्रति आभार प्रकट गरेका छन्।