खरसाङ: आज डा योगेश खातीको नेतृत्वमा कलेजका प्राध्यापकको एक टोलीले खरसाङको गिद्ध पहाडस्थित जीटीएको सचिवालयमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापासित भेट गरेर सरकारी सहायता प्राप्त कलेजहरूले सामना गर्ने समस्याहरू सम्बन्धी ज्ञापन पत्र चढाएका छन्। उनीहरू पश्चिम बंगाल कलेज, विश्वविद्यालय प्राध्यापक संघ, दार्जिलिङ जिल्ला समिति (हिल्स) जीटीएका सदस्यहरु हुन्। उक्त ज्ञापन पत्रमा जीटीए क्षेत्रका सरकारी सहायता प्राप्त कलेजहरूको सुचारु सञ्चालनलाई असर गर्ने चिन्ताजनक तथ्यहरुप्रति ध्यान आकर्षित गरेका छन्। जीटीए प्रमुख अनित थापालाई चढाएको ज्ञापन पत्रमा विभिन्न समस्याहरु विषयमा जानकारी गराइएको छ। ज्ञापन पत्रमा जीटीए क्षेत्रका कलेजका प्राध्यापकहरू अनि अन्य कर्मचारीहरुले विगत दुई वर्षदेखि बढेको तलबको एरियर पाएका छैनन् भनी उल्लेख गरिएको बताइएको छ। जीटीए क्षेत्रमा उच्चत्तर शिक्षा निधि स्थापना गर्ने दीर्घकालीन मागलाई स्वरूप दिनु मांग गरिएको छ। त्यसरी नै जीटीए अन्तर्गतका कलेजहरूमा सरकारी सहायता प्राप्त कलेजहरूको लागि पश्चिम बंगाल स्वास्थ्य योजना लागू भएको छैन। जीटीए अन्तर्गतका कलेजहरूको लागि विकास कोषको विनियोजन गर्नु पर्ने मांग पनि गरिएको छ। त्यसरी नै विभिन्न रिक्त पदहरू भर्ने मांग पनि गरिएको छ। ज्ञापन पत्रमा राज्य सहायता प्राप्त कलेज शिक्षकहरूका अन्य मुद्दाहरु विषयमा पनि उल्लेख गरिएको बताइएको छ।
पश्चिम बंगाल कलेज, विश्वविद्यालय प्राध्यापक संघ, दार्जिलिङ जिल्ला समिति (हिल्स) जीटीएका सदस्यहरुले चढाएको ज्ञापन पत्र विषयमा जीटीए प्रमुख कार्यपाल अनित थापाले उनीहरुलाई यी मुद्दाहरूलाई उचित अधिकारीहरूसँग उठाउने र समाधान सुनिश्चित गर्न आवश्यक कदमहरू चालिनेछन् भनी वचन दिएका छन्। उनले उनीहरुलाई चाँडै नै जीडीपीआई (JDPI)
को मुद्दा अनि अन्यमाथि चर्चा गर्न अनि समाधान निकाल्न एउटा बैठक डाक्ने वचन दिएका छन्। बैठकमा मुख्य सचिव, जीटीए, शिक्षा विभागका कार्यकारी निर्देशक अनि अन्य स्टेक होल्डर रहने भएका छन्।
उक्त भेटघाटमा अनित थापाले भने, शिक्षा हाम्रो भविष्यको आधार हो। भोलिको सोचलाई आकार दिलाउने प्रध्यापक अनि संस्थाहरुप्रति मेरो समर्थन अनि प्रतिबध्दता छ।’

उनले यस विषयमा अघि भने, हामी एक भएर हाम्रो क्षेत्रको लागि बलियो र अधिक प्रगतिशील शैक्षिक ढाँचा निर्माण गरौं।’