नयाँ दिल्ली: पाकिस्तानको बलुचिस्तान प्रान्तमा सशस्त्र विद्रोहीले रेलमा आक्रमण गरेर बन्धक बनाएकामध्ये कम्तीमा ३ सय ४६ यात्रुलाई सुरक्षाकर्मीले मुक्त गराएका छन्। पाकिस्तानी सेनाले बन्धक मुक्त गराउने क्रममा ३३ विद्रोहीे मारिएका र उद्धारका लागि सञ्चालित कारबाही सम्पन्न भएको जनाएको छ।
पाकिस्तानी सेनाका अनुसार आक्रमणकारीविरुद्ध सुरक्षा कारबाही सुरु हुनुअगाडि नै रेलमा सवार २७ सर्वसाधारण र चार सैनिकको मृत्यु भएको थियो। तर पाकिस्तानी सञ्चारमाध्यमले कम्तीमा ३० सुरक्षाकर्मी मारिएको उल्लेख गरेका छन्।
उद्धारका क्रममा घाइते भएका ३७ यात्रुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। पाकिस्तानी रेल अधिकारीका अनुसार रेलमा ४ सय ४० यात्रु थिए। पाकिस्तानी सेनाले उक्त घटनाका योजनाकारहरू अफगानिस्तानमा रहेको आरोप लगाएको छ। विद्रोही समूह बलुचिस्तान लिबरेसन आर्मी (बीएलए) ले मंगलबार क्वेटाबाट पेसावर जाँदै गरेको जाफर एक्सप्रेस रेलमा आक्रमण गरेर कैयौं यात्रुलाई बन्धक बनाएका थिए। क्वेटास्थित रेल अधिकारीका अनुसार मंगलबार ११ बालबालिका र २६ महिलासहित ८० यात्रु भने रेलबाट ओर्लिएर घर फर्किएका थिए। सैनिक अधिकारीका अनुसार रेलमा क्वेटाबाट चढेका सयभन्दा बढी सैनिक थिए।
बीएलएले विज्ञप्तिमार्फत रेलमा आक्रमण गर्नुअघि दुर्गम सीबी जिल्लास्थित रेल पटरीमा बम विस्फोट गराएको जनाएको छ। बीएलएले आफूले नियन्त्रणमा लिएकालाई उद्धार गर्ने प्रयास गरेको खण्डमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएको थियो। आक्रमणकारीले बलोच राजनीतिक बन्दीहरूलाई ४८ घण्टाभित्र मुक्त गर्नुपर्ने मा बलुचिस्तानको स्वतन्त्रताका लागि दशकौंदेखि विद्रोह गर्दै आएको बीएलएले प्रहरी स्टेसन, रेलमार्ग र राजमार्गलाई लक्षित गर्दै आएको छ। गत अगस्टमा उनीहरूले बलोचिस्तान प्रान्तस्थित एउटा राजमार्गमा बस र ट्रकबाट मानिसलाई बाहिर निकालेर परिचयपत्र जाँच्दै गोली हानेका थिए। उक्त घटनामा कम्तीमा ३९ जनाको ज्यान गएको थियो। तर पछिल्लो समय भने बीएलएले बलोचिस्तानमा सञ्चालित परियोजनामा कार्यरत चिनियाँ नागरिकलाई निसाना बनाउन थालेको छ। सन् २०११ देखि भने यो समूहले पाकिस्तानी सुरक्षा निकाय, विदेशी कामदार, सरकारी कर्मचारी र पत्रकारमाथि आक्रमण गर्दै आएको छ। बीएलएलाई पाकिस्तानका साथै बेलायत र अमेरिकासहित धेरै पश्चिमी देशले आतंकवादी संगठन घोषणा गरेका छन्।
सन् १९६४ मा सिरियाको दमास्कसमा स्थापना भएको बलोचिस्तान लिबरेन फ्रन्ट (बीएलएफ) सुरुमा इरानी बलोच विद्रोहमा संलग्न भएको थियो। इरानी बलोचहरूले त्यहाँको सरकारविरुद्ध विद्रोह गरेका थिए। पाँच वर्षको द्वन्द्वपछि इरानको शाहविरुद्धको विद्रोह वार्तामार्फत अन्त्य भएको थियो। त्यसलगत्तै अन्य बलोच संगठनहरूसँगै बीएलएफले पनि पाकिस्तान सरकारविरुद्ध गतिविधि गर्न थालेको हो। सन् १९७० को दशकदेखि यी संगठनहरूले अफगानिस्तानमा शरण लिएर गतिविधि गर्दै आइरहेका छन्।