गान्तोक: गान्तोक जिल्लाको पञ्चायत राज संस्थानको एक समन्वय साथै परिचयात्मक सभा आज राजधानीस्थित जनता भवनमा सम्पन्न भयो। यस सभामा पञ्चायतराज विकास विभागका सचिव दुष्यन्त परियार, अतिरिक्त जिल्लापाल मिलन राईलगायत अन्य अधिकारीहरुको उपस्थिति रहेको थियो। आफ्नो सम्बोधनमा सचिव परियारले विभागलाई सुव्यवस्थित गर्ने महत्त्वमाथि जोड दिँदै विभिन्न सरकारी परियोजनाहरूमाथि प्रकास पारे। उनले पञ्चायती राजको अधिकारीहरूले सामना गरिरहेका चुनौतीबारेमा पनि अवगत गराए। उनले थप जानकारी गराएअनुसार यस प्रकारको सुविधाहरू नभएका स्थानहरूमा कार्यालयहरू निर्माण गर्न राष्ट्रिय ग्राम स्वराज अभियान प्रयोग गर्न सकिने कुरामा जोड दिए। उनले पञ्चायत राज संस्थानको सुधारबारे सुझाउ राख्दै यसको निम्ति विभागका अधिकारीहरूबीच समन्वय हुनुपर्ने बताए। उनले विशेष गरेर यस विषयमाथि कर्मचारीहरूलाई लिएर प्रशिक्षण कार्यक्रम आयोजना गरिनुपर्ने आग्रह गरे। कर्मचारीहरूको निम्ति प्रशिक्षण कार्यक्रम महत्वपूर्ण रहेको उनको भनाइ रहेको थियो। सभामा उपस्थित कर्मचारीहरूलाई सचिव परियारले सहयोगको प्रतिवद्धता व्यक्त गरे। सोही क्रममा स्वागत सम्बोधन गर्दै अतिरिक्त जिल्लापाल मिलन राईले गान्तोक जिल्ला भित्र गरिएका विकास पहलहरूको प्रस्तुति दिँदै सबै कार्यहरुबारे अवलोकन गर्नुपर्ने आग्रह गरे। यसका साथै गान्तोक जिल्लामा पाँचवटा खण्डअन्तर्गत योजनाहरु कार्यन्वयन भइरहेको उल्लेख गरे। यसबाहेक, उनले पीआरआइहरूले सामना गर्नु परिरहेको विभिन्न प्रकारको चुनौतीमाथि पनि प्रकाश पारेका थिए। बैठक आयोजनका लागि अतिरिक्त जिल्लापाल राईले कृतज्ञता व्यक्त गर्दै नवनियुक्त सचिवको नेतृत्वमा विभिन्न क्षेत्रमा प्रभावी काम हुने बताए।