नाम्ची: सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायामूर्ति विश्वनाथ सोमादरले नाम्ची जिल्लाअन्तर्गत कर्फेक्टारमा महकुमा न्यायालयको शिलान्यास गरे। यसअवसरमा भवन तथा आवास विभागकी सचिव आशा गुरुङले जोरथाङ महकुमा न्यायालयको निर्माणबारे प्राविधिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। उनले सिक्किम उच्च न्यायालयद्वारा अनुमोदित तथा डिजाइनअनुसार भवनको विस्तृत परियोजना रिपोर्ट प्रस्तुत गरिन्। सचिव गुरुङले योजनाअन्तर्गत तीन संरचनाहरू हुने जसमा मुख्य अदालत भवन, एनेक्सी भवन र न्यायिक मेजिस्ट्रेट भवन सामेल रहेको जानकारी गराइन्। भवनमा आधुनिक तकनिकीपूर्ण रहने योजनामा रहेको जानकारी दिइन्। यसअन्तर्गत न्यायालय कोठा, न्यायाधीश कार्यालय, क्याफेटेरिया, स्टोर कोठा र चालक कोठा सामेल छ। यसरी नै न्यायिक मेजिस्ट्रेटको बंगलोमा एक तल्ले संरचना र यसमा बेडरूम, शौचालय सुविधा, डाइनिङ हल, अध्ययन कोठा र रिमान्ड कोठाको व्यवस्था हुने योजना रिपोर्टमा उल्लेख गरिएको छ। शिलान्यास समारोहमा सिक्किम उच्च अदालतका उपरेजिस्ट्रार निमा ग्याल्पो शेर्पा, जिल्ला तथा सत्र न्यायाधीशहरु, कानून तथा संसदीय मामिला विभागका सचिव, सिक्किम उच्च न्यायालयका रेजिस्ट्रारहरू, बार एसोसिएसनका सदस्यहरू, मुख्य न्यायिक मेजिस्ट्रेटहरूको उपस्थिति थियो।