कालेबुङ: कालेबुङमा क्षेत्री गोल्डकप हकी टुर्नामेन्टको भव्य शुभारम्भ भएको छ। भरत क्षेत्री हकी एकाडेमीको आयोजनामा क्षेत्री गोल्डकप अल इन्डिया हकी टुर्नामेन्टको भव्य शुभारम्भ गरिएको छ।कालेबुङको १६ माइलमा नवनिर्मित हकी स्टेडियममा उक्त खेलको उद्घाटन सम्पन्न भएको हो। उद्घाटन समारोहमा कालेबुङका विधायक रूदेन लेप्चा प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिका रूपमा कप्तान प्रकाशमणि प्रधान, क्षेत्रीय सभासद शेर्पा, सभासद हेमन्त थुलुङ राई, पवल सिमिक लगायत अन्य गणमान्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

यो खेल राष्ट्रिय स्तरको प्रतियोगिता भएकाले विभिन्न राज्यका टिमहरूले समेत सहभागिता जनाएका छन्। आयोजक भरत क्षेत्रीले फाइनल खेलको दिन राष्ट्रिय स्तरका खेलाडीहरूको विशेष सहभागिता रहने जानकारी दिएका छन्।

भरत क्षेत्रीका अनुसार यो टुर्नामेन्ट आफ्ना पिताको नाममा ‘केपी क्षेत्री गोल्डकप’ राखिएको हो, जसले हकी खेलको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। उनले यसलाई क्षेत्रको खेलकुद इतिहासमा एक ऐतिहासिक उपलब्धि भएको बताएका छन्।