दार्जीलिङको रातो आलु, रङ्बुल आलु फार्मको चिन्हारी हो: राजेस चौहान
दार्जिलिङ: दार्जीलिङ शहरदेखि १२ किलोमिटर टाढा ३५६.४२ ऐकर जमीनमा फैलिएको एक समयको देशकै प्रसिद्ध रङ्बुल आलु फार्मले फेरि पुनर्जीवित हुने कोशिशॐष गर्दैछ। १९४५ मा स्थापित आलुको बिजन उत्पादन गर्ने यो फार्मबाट उत्पादित दार्जीलिङको रातो आलूले एक समय देश विदेशमा दार्जीलिङ चिया सरह ख्याति पाएको थियो। १९८६ को गोर्खाल्याण्ड आन्दोलन अघि यस फार्ममा लगभग १२०० आलुको प्रजातिमाथि शोध साथै बिजन उत्पादन हुन्थ्यो। आन्दोलन समय फार्म नष्ट भयो साथै विस्तारै दार्जीलिङको रातो आलु पनि विलीन हुँदै गयो। अहिले उक्त आलुको फारमलाई क्षेत्रीय सभासद एंव जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानको पहलमा पुनः शुरु गरिएको छ। क्षेत्रीय सभासद राजेश चौहानले पनि रङ्बुललाई चिनाउने रङबुल आलु फार्मलाई पुनर्जागृत गराउन पहल शुरु गरे। यस विषयमा उनले भने, ‘२०२२ मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जीटीएको सत्ता सम्हालेपछि पहाडले गुमाएको विभिन्न गरिमाहरुलाई फर्काई ल्याउने एउटा आन्दोलन नै शुरु गर्ने सोच्यो। जीटीए मुख्य कार्यपाल अनित थापा बारम्बार हामीलाई याद दिलाउनु हुन्छ कि आफ्नो क्षेत्रको चाहे त्यो पर्यटकीय पूर्वाधार होस या शैक्षिक, आर्थिक स्रोतका बन्द पूर्वाधार होस या हाम्रो विभूतिहरूलाई संसार अघि ल्याउने कार्य, सबैले यी हराएका गरिमा फर्काउने कार्य पनि गर्नु पर्नेछ। यसै शिलशिलामा जीटीएले थुप्रै कार्यहरू गरिसकेको छ।’
उनले अघि भने, ‘यस फाममा आलुको बिजन उत्पादन गर्नेदेखि आलुको खेतीसम्म हुन्छ। फार्म सञ्चालन भएपछि यहाँ स्थानीयहरूको निम्ति रोजगार मात्र होइन, आलुको खेती गर्ने अवसर पनि सृजना भएको छ। वर्तमान हाम्रै पढेका नानीहरू फार्ममा शोध गर्छन्। महिलाहरु फार्ममा काम गर्छन्। दार्जीलिङको रातो आलुलाई पुनः स्थानीय स्तरमा उत्पादन गरेर देशभरि नै पुर्याउने योजना रहेको छ। दार्जीलिङको रातो आलुलाई अन्य जिल्लाहरुमा पनि पठाउन वैज्ञानिकहरूले बाटो खोलिदिने छन् भन्ने आशा गरेका छौं। स्मरण गराउन चाहन्छु कि दार्जीलिङको रातो आलुमा एउटा रोग लागेको कारण यस आलुको विजन अनि आलुलाई अन्य जिल्लामा पठाउन रोक लगाइएको छ।’

यो आलु फार्म विषयमा धेरै लामो समयसम्म सम्बन्ध राख्ने एसबी तामाङ बताउँछन्, ‘रङबुल आलु फार्मलाई व्यवस्थित ढङ्गले चलाउन सके यो फार्मले रोजगार मात्र दिँदैन पहाडमा आर्थिक विकासलाई नै टेवा पुर्याउने छ। दार्जीलिङको रातो आलुले फेरि विश्व बजारमा तहलका मच्चाउने छ कारण आजसम्म दार्जीलिङको रातो आलुको हाराहारी मा कुनै आलु निस्केको छैन। उनले यो आलु फार्मलाई पुनः शुरु गरिएकोमा क्षेत्रीय सभासद एंव जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानप्रति आभार प्रकट गरेका छन्।