चीनपछि पाकिस्तानको दोस्रो मिल्ने मित्र टर्कीले फेरि एकपटक भारत विरोधी अनुहार देखाएको छ। टर्कीको यो निर्णयले भारतजस्तो उदीयमान महाशक्तिलाई खासै फरक नपर्ने भए पनि युद्धजस्तो अवस्था आयो भने पाकिस्तानले यसलाई भारतविरुद्ध प्रयोग गर्नसक्छ भन्ने भनाइ छ। वास्तवमा युक्रेनदेखि आर्मेनियासम्म विनाश मच्चाउने मेड इन टर्की बेरेक्टर टीबी२ ड्रोन बनाउने कम्पनीका सीईओ बेराक्तारले दक्षिण एसियामा पाकिस्तान जस्ता मित्र राष्ट्रलाई यो किलर ड्रोन आपूर्ति गर्ने घोषणा गरेका छन्। हलुक बेराक्तर टर्कीका राष्ट्रपति एर्दोगानका ज्वाइँ हुन्। जसलाई यो देशमा ड्रोन क्रान्तिको ‘पिता’ मानिन्छ। यो किलर ड्रोनको संसारमा यति धेरै माग छ कि ३ वर्षदेखि प्रतिक्षा गरिएको छ। युरेशियन टाइम्समा प्रकाशित रिपोर्टका अनुसार हलुक बायराक्तरले जापानी मिडिया हाउससँगको कुराकानीमा भनेका छन्, ‘टीबी२ जस्ता ड्रोन विमान नौसैनिक युद्धका साथै जमिन युद्धमा पनि निकै प्रभावकारी हुन्छ। हतियारले सुसज्जित ड्रोनले भविष्यको हरेक युद्धमा धेरै महत्त्वपूर्ण भूमिका खेल्नेछ। आफ्नो अन्तर्वार्तामा ड्रोन कम्पनीका सीईओले यो पनि भनेका छन्, ‘भविष्यमा हाम्रो किलर ड्रोनलाई ताइवान स्ट्रेटमा चीन र ताइवानबीचको सम्भावित युद्धमा पनि प्रयोग गर्न सकिन्छ। अब यो प्रश्न उठ्दैन कि भविष्यमा कुनै पनि युद्ध ड्रोन विमान बिना हुनेछ। जुन देशले युएभी प्रविधिमा महारत हासिल गर्दैन, त्यो देश भविष्यको युद्धमा पराजित हुनेछl’
हलुकले आफ्नो सशस्त्र ड्रोन विमान चीनको लडाकु ड्रोन विमानभन्दा प्रभावकारी भएको दाबी गरेका छन्। बेरेक्टर टीबी२ ड्रोन पनि युक्रेनी नौसेनामा सफल साबित भएको छ। नयाँ अकिन्से प्रकारको ड्रोनमा एन्टी शिप क्रुज मिसाइल पनि जडान गरिएको सीईओले बताए। एर्दोगानका ज्वाइँ र ड्रोन कम्पनीका सीईओ हलुकले भारतलाई पनि ड्रोन विमान बेच्ने हो कि होइन भनेर सोध्दा उनले भने, ‘कम्पनीको सिद्धान्त भनेको हामीले युद्ध वा द्वन्द्वमा संलग्न दुवै पक्षलाई हतियार बेच्दैनौँ। हामीले यी ड्रोनहरू पाकिस्तान, अजरबैजान, युक्रेन जस्ता ‘मैत्री’’ सम्बन्ध भएका देशहरूलाई बेचिसकेका छौंl’