‘मेरो रुख मेरो सन्तति’ पहल देशका अन्य राज्यहरूको लागि उदाहरण: राज्यपाल
पाकिम: सिक्किमका राज्यपाल ओम प्रकाश माथुर आज पाकिममा परियोजना आगाजप्लस अन्तर्गत सरसफाई र स्वच्छतामा उत्कृष्ट अभ्यासहरूलाई मान्यता दिन आयोजित शुलभ अल्केम पुरस्कार २०२४ समारोहमा सहभागी बने।
कार्यक्रमको आयोजना शुलभ स्यानिटेशन क्लब र अल्केम फाउन्डेशनद्वारा सिक्किम सरकारको शिक्षा विभागसँगको सहकार्यमा गरिएको थियो।
कार्यक्रममा कृषि, बागवानी, पशुपालन र पशु चिकित्सा सेवा विभाग मन्त्री पुरण कुमार गुरुङ, जिल्ला उपाध्याक्ष प्रभा प्रधान, जिल्लापाल रोहन अगावाने, पुलिस अधीक्षक धनमाया सुब्बा, एडीसी (विकास) रबिन सेवा, शिक्षा विभागका सीईओ नारायण मिश्रा लगायत शुलभ इन्टरनेशनलका चेयरमेन डा. प्रेम कुमार र अल्केम फाउन्डेशनका प्रतिनिधिहरू उपस्थित थिए।
कार्यक्रमको क्रममा राज्यपालले एयरपोर्ट अथोरिटी अफ् इण्डियाको सीएसआर पहल अन्तर्गत नवनिर्मित एकीकृत बहुउद्देश्यीय सामुदायिक हलको उद्घाटन गरे। राज्यपालले आफ्नो सम्बोधनमा स्वच्छता र सरसफाईको महत्त्वमाथि प्रकाश पार्दै शुलभ स्यानिटेशन क्लब र अल्केम फाउन्डेशनले शिक्षा क्षेत्रमा परियोजना आगाजप्लस शुरु गर्ने प्रयासको प्रशंसा गरे। उनले यस्ता पहलहरूले विद्यार्थीहरूमा स्वच्छता र सरसफाईको भावना जगाउन महत्त्वपूर्ण भूमिका खेल्ने र यसले अन्ततः स्वस्थ जीवनतर्फ डोऱ्याउने बताए।
उनले विद्यालयहरूमा बालिकाहरूको चेन्जिङ रुमको नवीनीकरणको पनि प्रशंसा गर्दै महिला विद्यार्थीहरूको लागि यसको महत्त्वबारे बताए। उनले सरोकारवालाहरूलाई दीर्घकालीन प्रभावको लागि यस्ता पहलहरूलाई समर्थन गर्न आग्रह गरे। राज्यपालले प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शुरु गरिएको स्वच्छ भारत अभियानको सराहना गर्दै यसले समाजमा सरसफाई र स्वच्छता जागरूकतामा उल्लेखनीय रूपमा परिवर्तन गरेको बताए।
उनले सिक्किम प्लास्टिक प्रतिबन्ध गर्ने पहिलो राज्य रहेको र यस पहलले स्वच्छ भारत अभियानमा थप योगदान पुर्याएको आफ्नो सम्बोधनमा बताए। यसैगरी, उनले राज्य सरकारको ‘मेरो रुख मेरो सन्तति’ पहलको पनि प्रशंसा गरे, जुन अन्य राज्यहरूको लागि उदाहरण स्थापित गर्ने हरित पहल रहेको बताए।
कार्यक्रममा उत्कृष्ट विद्यालयहरूलाई शुलभ अल्केम पुरस्कार २०२४ द्वारा सम्मानित गरिएको थियो।