पर्विङमा पालन गरियो राज्यस्तरीय ग्याल्पो लोसार

IMG-20250312-WA0326

गान्तोक: शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो लोसार राज्यस्तरीय समारोहको रुपमा आज दक्षिण सिक्किमको नाम्ची जिल्लाअन्तर्गत नामथाङ रातेपानी समष्टिको पर्विङमा पालन गरियो। विविध पारम्परिक सांस्कृतिक कार्यक्रमको साथमा आयोजित समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि रहेका थिए। यसरी नै सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पाको पनि विशेष उपस्थिति रहेको थियो। यस अवसरमा समारोहका आयोजक समिति डेञ्जोङ शेर्पा एसोसिएशनद्वारा मुख्यमन्त्री प्रेमसिंह तामाङ र क्षेत्र विधायक सञ्जित खरेललाई अभिनन्दन पनि जनाइयो।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका शेर्पा समुदाय साथै सम्पूर्ण राज्यवासीलाई ग्याल्पो लोसारको बधाई अनि शुभकामना दिए। उनले शेर्पा समुदायलाई सोझो, इमान्दार र पौरखी समुदाय बताए। यसको साथै आफ्नो सरकारले राज्यका शेर्पा समुदायलाई सामाजिक साथै राजनीतिक हक-अधिकार दिएको पनि मुख्यमन्त्रीले दावी गरे। एसकेएम सरकार आएपछि मात्र राज्यका शेर्पा समुदायबाट पनि मन्त्री जस्तो गरिमामय पदमा पुगेको अनि आफ्नो सरकारले नै पहिलोपल्ट शेर्पा समुदायबाट विधानसभा अध्यक्ष पनि बनाएको उनले थप बताए। यसको साथै एसकेएम सरकारकालमा राज्यका सबै जाति समुदायले स्वतन्त्रतासित आ-आफ्नो जातीय पर्वहरू पालन गर्ने अवसर पाएको जुन पूर्व सरकारकालमा नरहेको पनि मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा अझ बताए।
आजकै कार्यक्रममा क्षेत्र विधायक सञ्जित खरेलद्वारा राखिएका नामथाङ रातेपानी क्षेत्रसित सम्बन्धित विभिन्न मागलाई पूरा गर्ने मुख्यमन्त्री तामाङले आश्वासन दिएका छन्। यसै क्रममा उनले शेर्पा जातिमाथि चलचित्र निर्माण गर्ने प्रस्तावलाई स्विकार गर्दै राज्य सरकारको पक्षबाट आवश्यक सहयोग गर्ने घोषणा गरे। अर्कोतिर २ करोड़ ४३ लाख रुपियाँको लागतमा पर्विङमा निर्माण गरिएको शेर्पा भवनको सदुपयोग गर्ने पनि मुख्यमन्त्रीले शेर्पा समुदायलाई अपील गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्र विधायक सञ्जित खरेलले एसकेएम सरकार आएपछि राज्यका पछौटे समष्टिहरूमध्ये एक नामथाङ रातेपानी क्षेत्रमा विकासका मूल फुटेको दावी गरे। विशेष गरेर एसकेएम सरकारले नामथाङलाई महकूमा घोषणा गर्नुको साथै नामथाङ बजारको सड़क मार्गलाई तत्काल मरम्मत गरेर क्षेत्रवासीलाई ठूलो राहत दिएको उनले बताए। अर्कोतिर क्षेत्रवासीका विभिन्न माग र समस्यालाई सुनवाइ गर्न तीन दिने जनभेट कार्यक्रम गिरदिने पनि विधायक खरेलले मुख्यमन्त्रीसमक्ष नामथाङ रातेपानी क्षेत्रवासीको पक्षमा अनुरोध पनि गरे।
कार्यक्रमलाई लोकसभा अध्यक्ष एमएन शेर्पाले पनि सम्बोधन गरे। उनले आफ्नो सम्बोधनमा मुख्यमन्त्री तामाङले शेर्पा समुदायलाई नमागी नै धेरै सुविधा उपलब्ध गराएको बताउँदै एसकेएम सरकारकालमा मात्र शेर्पा समुदायले शीर ठाड़ो पारेर हिँड़्ने वातावरण सिर्जना भएको बताए। एसकेएम सरकारकालमा शेर्पा समुदायले पनि अन्य जातिले जस्तै न्याय पाएको उनको दावी रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement