सोनादा: साहित्य अकादमीद्वारा नेपाली सन्त काव्यको विमोचन गरिएको छ।साहित्य अकादमीको प्रेक्षागृह गंगा सभागारमा भारतीय नेपाली साहित्यमा प्रथमपल्ट साहित्य अकादमीद्वारा प्रकाशित तथा जीवन नामदुङद्वारा सङ्कलित, सम्पादित नेपाली सन्त काव्य संकलन नामक ग्रन्थको विमोचन अकादमीको उप सचिव डा एन सुरेशबाबु तथा प्रख्यात लोक साहित्यविद डा अनिलकुमार बोरोको हातबाट सम्पन्न गरिएको छ। एशियाकै सबैभन्दा ठूलो ठूलो साहित्यिक महाकुम्भ भनेर चिनिने सप्ताहव्यापी यस साहित्यिकोत्सव एक भागको रुपमा शीर्षकको कार्यक्रम रहेको थियो। यस कार्यक्रममा प्रतिभागी वक्ताहरुमा डा जीवन नामदुङ (नेपाली भाषा), डा मिमी केविचुसा इचुङ (नागाल्याण्ड), डा सत्यकामबर ठाकुर (असम), डा स्वागतिका स्वाईन (ओडिया) रहेका थिए। कार्यक्रमको अध्यक्षता अनिल बोडोले गरेका थिए। सम्पूर्ण कार्यक्रम अंग्रेजी भाषामा सम्पन्न भएकाे थियाे। विमोचित पुस्तक नेपाली सन्त काव्य संकलनबारे मन्तव्य प्रकट गर्दै उप सचिव डा सुरेशबाबुले भने, डा नामदुङजीको अथक प्रयासको परिणामले यो पुस्तक आज यस साहित्यिक महाकुम्भको समारोहमा विमोचन हुन सकेको छ। भारतीय नेपाली साहित्यमा सन्त काव्यको ठूलो अभाव रहेको थियो। त्यसलाई अकादमीद्वारा प्रकाशित यस पुस्तकले केही मात्रामा भए पनि पूर्ति गर्छ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ। सप्ताहव्यापी यस साहित्यिक महाकुम्भमा सात सय विभिन्न भाषाका सर्जकहरुले भाग लिएको कुरा उनले उल्लेख गरेका छन्।