खरसाङ: खरसाङ नगरपालिकामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बोर्ड गठन भएपछि के के विकासका कार्यहरू गरियो भन्ने विषयमा जानकारी गराउन साथै आगामी दिनमा गरिने विभिन्न विकासमूलक कार्यहरूको शिलान्यास गरिएको छ। उक्त कार्यहरुको शिलान्यास जीटीए प्रमुख कार्यपाल अनित थापाको उपस्थितिमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, कार्यकारी सभासद अनोश थापा र सभासद श्याम शेर्पाको बाहुलीबाट शिलान्यास गरिएको छ। खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न कार्यक्रमको अध्यक्षता खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले गरेका थिए भने प्रमुख अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए। सभाध्यक्ष र प्रमुख अतिथिको बाहुलीबाट धुप दीप प्रज्ज्वलन गरी थालिएको कार्यक्रममा खरसाङ नगरपालिकाले अहिलेसम्म गरेका विभिन्न विकासमूलक कार्यहरु विषयमा जानकारी गराउन साथै आगामी दिनमा खरसाङ नगरपालिकाको बोर्ड अफ् एडमिनिस्ट्रेशनले गर्ने विभिन्न विकासमूलक कार्यहरूको जानकारी प्रोजेक्टरमा देखाइएको थियो। कार्यक्रममा स्वागत सम्भाषण खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले राखेका थिए। कार्यक्रममा सूचना अनि सांस्कृतिक विभागको कलाकारहरुले गीत, नृत्य प्रस्तुत गरिएको थियो। सबिना गिरीले सञ्चालन गरेको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा खरसाङ नगरपालिकाको अधिकारीहरु, सभासदहरु र अन्यहरु उपस्थित रहेका थिए। बुधबार शिलान्यास गरिएको विभिन्न विकासमूलक कार्यहरुमा खरसाङ नगरपालिकाको एकदेखि बीस नम्बर वार्डसम्ममा ४ करोड ६० लाख रुपियाँ बराबरको लागतमा ३० वटा विभिन्न विकासमूलक कार्यहरू रहेको बताइएको छ। खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले सम्बोधन गरेका थिए। उनले आफ्नो सम्बोधनमा खरसाङ नगरपालिकाले अहिलेसम्म गरेको कार्यहरूको जानकारी प्रोजेक्टरमार्फत् दिइएको बताएका छन्। उनले खरसाङ नगरपालिकाको एकदेखि बीस नम्बर वार्डसम्ममा तीसवटा विभिन्न विकासका कार्यहरूको आज शिलान्यास गरिएको र यसको जम्मा लागत ४ करोड ६० लाख रुपियाँको रहेको बताएका छन्। उनले खरसाङ नगरपालिकाको विभिन्न स्थानहरुमा स्ट्रिट लाइट लगाउने कार्य गरिने पनि बताएका छन्। खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले हाउजिङ फर अल योजना विषयमा विस्तृत रुपमा जानकारी केही दिनमा पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताएका छन्। कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले यस कार्यक्रमको मुख्य उद्देश्य भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय अध्यक्ष अनित थापाकोे नेतृत्वमा खरसाङ नगरपालिकाको बोर्ड गठन भएपछि र बोर्ड अफ् एडमिनिस्ट्रेशनले गरेको विभिन्न विकासमूलक कार्यहरू र आगामी दिनमा गरिने विभिन्न विकासमूलक कार्यहरूको शिलान्यास गर्नलाई आयोजना गरिएको बताएका छन्।

उनले आज शिलान्यास गरिएको विभिन्न विकासमूलक कार्यहरूको वर्क अर्डर पनि केही दिनमा दिइने बताएका छन्। उनले खरसाङ नगरपालिका खरसाङ नगरपालिका क्षेत्रका जनसाधारणको लागि सदैव कटिबद्ध रहेको र खरसाङ बजारलाई स्वच्छ राख्न सदैव तत्पर रहेको पनि बताएका छन्।