गान्तोक: देशका विभिन्न राज्यबाट मसुरीको एलबीएसएसएनएमा प्रशिक्षण लिइरहेका नव नियुक्त आईएएस अधिकारीहरूको टोलीले आज राज्यका राज्यपाल ओमप्रकाश माथरुसँग राजभवनमा भेट गरे। भारत दर्शन कार्यक्रमको एक भागको रूपमा आईएएसका टोली देशको विभिन्न राज्यको भ्रमण गर्दै सिक्किम आइपुगेका हुन्। राज्यपालसँगको भेटको क्रममा आईएएस अधिकारीहरूले विभिन्न स्थानहरूको भ्रमण गरेपछि आफ्ना अनुभवहरू साझा गरे। उनीहरूले बताएअनुसार सिक्किम सरसफाइ, प्लास्टिकमुक्त साथै सडकहरूको सुविधाले देशका अन्य राज्यहरूसंग जोड़ने काम गरेको बताए। यसका साथै, अधिकारीहरूले सिमावर्ती क्षेत्रहरूमा सेनाका कर्मचारी र नागरिकहरूबीचको सुमधुर सम्बन्धको पनि खुलेर प्रशंसा गरे। आफ्नो संक्षिप्त सम्बोधनमा राज्यपाल माथुरले सिक्किमको रणनीतिक महत्व र सामाजिक-सांस्कृतिक विकाससँग सम्बन्धित धेरै प्रमुख पक्षहरूमाथि प्रकाश पारे। उनले सिक्किमको अन्तर्राष्ट्रिय सीमाको महत्त्वलाई जोड दिए। विशेष गरेर चीनसँग जोडिएको नथुला सीमाबारे प्रकाश पारे। राज्यपालले प्रत्येक ११ सेप्टेम्बरमा पालन गरिने नथुला दिवस अब नथुला विजय दिवसको रूपमा मनाइने गरेको बताए। यस दिनले राजस्थानका मेजर जेनरल सगत सिंहले चिनियाँ आक्रमणबाट नथुला र चोला पासको रक्षा गर्न खेलेको महत्त्वपूर्ण भूमिकाबारे पनि उल्लेख गरे। राज्यपालले २०१७ को चीन-भारत सीमा गतिरोधलाई पनि उल्लेख गरे। राष्ट्रको सीमानाको रक्षा गर्न भारतीय सेनाको शक्ति र संकल्पबारे अवगत गराए। राज्यपालले सिक्किमका दुर्गम गाउँहरूका विद्यार्थीहरूलाई देशभरि शैक्षिक र सांस्कृतिक आदानप्रदान भ्रमणमा पठाउन राजभवन र भारतीय सेनाको सहयोगको उल्लेख गरे। राज्यपालले जैविक खेतीमा राज्यको उपलब्धिबारे पनि जानकारी गराए।