यूएस ओपनः टियाफो र स्वियातेक सेमिफाइनलमा

photocollage_202298135317363.jpg

८ सेप्टेम्बरः फ्रान्सिस टियाफोले आफूभन्दा असल ऱ्याङकिंग भएका आन्द्रे रुबलेवलाई सीधा सेटमा पराजित गरी यूएस ओपन टेनिस टुर्नामेण्टमा पुरुष एकलको सेमिफाइनलमा स्थान बनाए। यसको साथै अमेरिकी खेलाड़ी टियाफो २००६-मा एण्डी रोडिकपछि यस ग्राण्ड स्ल्यामको सेमिफाइनलमा स्थान बनाउने आयोजक देशका पहिलो खेलाड़ी बने। चौथो राउण्डमा २२ पल्टका ग्राण्ड स्ल्याम विजेता रफायल नडाल विरुद्ध आफ्नो करियरको सबैभन्दा ठूलो जीत हासिल गर्ने २२औं वरीयता प्राप्त टियाफोले अझ एउटा उपलब्धि हासिल गर्दै क्वार्टर फाइनलमा नवौं वरीयता प्राप्त रुसका रुबलेवलाई ७-६ (३), ७-६ (०), ६-४-ले पराजित गरे। चौबीस वर्षीय टियाफोले भने, म के गर्न सक्छु भन्ने विश्वलाई देखाउन चाहन्छु। म कोर्टमा ओर्लिएर दर्शकहरूलाई त्यो कुरा दिन चाहन्छु, जुन उनीहरूले चाहन्छन्। यसै कुराले मलाई जीत दिलाइरहेको छ। रोडिक १६ साल अघि फाइनलमा स्विट्जरल्याण्डका दिग्गज खेलाड़ी रोजर फेडरर विरुद्ध पराजित भएका थिए। उनी न्यूयोर्कमा सेमिफाइनलमा पुग्ने अन्तिम अमेरिकी पुरुष खेलाड़ी थिए। रोडिक २००३-मा यूएस ओपनमा खिताबी जीतको साथ कुनै पनि ग्राण्ड स्ल्याम एकल खिताब जित्ने आफ्नो देशका अन्तिम पुरुष खेलाड़ी पनि थिए।
यसपाली पुरुष एकलमा ग्राण्ड स्ल्याम खिताब जित्ने कुनै खेलाड़ी बाँचेका छैनन्। शुक्रवार सेमिफाइनलमा टियाफोको भिड़न्त तेस्रो वरीयता प्राप्त स्पेनिश खेलाड़ी कार्लोस अल्कारेज र ११औं वरीयता प्राप्त यानिक सिनरबीच खेलिने म्याचको विजेतासँग हुनेछ। टियाफोले बुधवार आक्रामक टेनिस खेले अनि एकपल्ट पनि आफ्नो सर्विस गुमाएनन्। उनले रुबलेव विरुद्ध असाधारण भलीको साथ १८ वटा ऐस पनि लगाए। रुसका खेलाड़ी रुबलेवको ग्राण्ड स्ल्याम क्वार्टर फाइनलमा यो छैटौं हार हो।
यसबीच महिला एकलको क्वार्टर फाइनलमा विश्वकी नम्बर एक खेलाड़ी इगा स्वियातेकले अमेरिकाकी आठौं नम्बरकी खेलाड़ी जेसिका पेगुलालाई ६-३, ७-६-ले पराजित गरिन्। शीर्ष १०-मा सामेल खेलाड़ीहरू विरुद्ध यो उनको लगातार आठौं जीत हो। स्वियातेक फ्रेञ्च ओपनमा दुईपल्टकी च्याम्पियन हुन् तर न्यूयोर्कमा चाहिँ यस साल अघि पहिला कहिले पनि चौथो राउण्डभन्दा अघि बढ़्न सकेकी थिइनन्। महिला एकलको अन्य एउटा सेमिफाइनलमा पाँचौं नम्बरकी खेलाड़ी ओन्स जाबुर र १७औं नम्बरकी खेलाड़ी केरोलिना गार्सियाबीच भिड़न्त हुनेछ। गार्सियाले मंगलवार अमेरिकाकी १८ वर्षीय कोको गफलाई पराजित गरेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement