गान्तोक: मंगन जिल्लाको जिल्ला परामर्श समिति र जिल्लास्तरीय समीक्षा समितिको एक बैठक नगर पञ्चायत. भवनमा सम्पन्न भयो। बैठकको क्रममा मंगन जिल्लाका अतिरिक्त जिल्लापाल पेमा वाङछेन नामकर्पा, एलडीओ पारज नागदीब लगायत सम्वन्धित अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। बैठकले पछिल्लो बैठकमा लिएको निर्णय र यसको कार्यान्वयनबारे छलफल गरेको थियो। जिल्लाको वार्षिक ऋण योजना र कृषि सूक्ष्म, साना तथा मझौला उद्यम जस्ता विभिन्न क्षेत्रहरूमा हासिल गरेको उपलब्धिबारे समीक्षा गरेको थियो। यसका साथै प्रधानमन्त्री रोजगार सृजन कार्यक्रमको कार्यान्वयन, जिल्लामा किसान क्रेडिट कार्ड वितरण र स्वयं सहायता समूहको स्थिति लगायत अन्य प्राथमिकता र गैर-प्राथमिकता क्षेत्रहरूमा भएका विकासहरूबारे सम्वन्धित अधिकारीहरूले प्रतिवेदन प्रस्तुत गरेका थिए। य़स अवसरमा आवासीय क्षेत्रमा भएका उल्लेखनीय उपलब्धिहरू, शैक्षिक ऋणको प्रावधान र वित्तीय साक्षरता तथा ऋण परामर्शबारे सबैको ध्यान आकर्षित गरेको थियो। वित्तीय समावेशीकरण बढाउन र आर्थिक प्रगतिलाई अघि बढाउन सुधारका क्षेत्रहरू खोज्ने, वित्तीय सुविधा विस्तार गर्ने र व्यावसायिक वृद्धिलाई प्रवर्द्धन गर्ने कुरामा ध्यान केन्द्रित गराएको थियो।