सोनादा: ऐतिहासिक तथा पौराणिक तथ्यहरू दार्जिलिङ पहाडमा नभएको होइन। दार्जिलिङ पहाड नै इतिहासको मूल हो। यहाँ ऐतिहासिक, धार्मिक, पौराणिक तथ्यहरू अझै पनि इतिहासको भूगर्भमा लुकेर बसेको छ। भूतत्व तथा उत्खनन वैज्ञानिकहरूको दृष्टि यहाँ नपरेको वा विभागीय रूपमा उदासिनता रहेको हो जसले गर्दा पहाडमा भएको यस्ता ऐतिहासिक तथ्यहरू अझैसम्म बाहिर आउन सकेका छैनन् तथा देखा परेका यस्ता घटनाहरूलाई नजरअन्दाज गरिरहेका छन्। विगत धेरै समय अघि पनि यहाँको सोनादास्थित चन्द्रमानधुरामा देखा परेको शिला जसलाई शङ्खे ढुङ्गा पनि भनिन्छ। त्यो आज पनि केवल इतिहासको गर्भमा नै तुहिरहेका छन्। यो ढुङ्गा न कसैले यहाँ ल्याइएको हो न यसलाई कसैले खोपेर बनाइएको हो। परापूर्वकालदेखि प्राकृतिक रूपमा अवस्थित यो ढुङ्गा अझै पनि इतिहास बोकेर त्यतिकै उभिरहेको छ। यस ढुङ्गा सम्बन्धि केही किंवदन्तीहरू छन्। ती मध्ये स्थानीय निवासीहरू अनुसार धेरै वर्ष अघि यहाँका बाजे बोज्यु (पितापुर्खा) ले यस ढुङ्गामा नटेक्नु, फोहोर मैला नगर्नु भन्थे। विगतमा यहाँ एउटा ठूलो शङ्ख थियो तर यहाँ फोहोर मैला गरेकोले उक्त शङ्ख उडेर गएको बताउँछन्। प्रमाणका रूपमा अझै पनि यहाँ साक्षात् शङ्ख आकारको दृश्य देख्न सकिन्छ। तिनीहरूले थप जानकारी दिए अनुसार सन् १९६३-६४ सालमा यस चियाबारी भेगमा अङ्ग्रेज मालिकहरूले सडक खन्ने काम गरेका थिए। अङ्ग्रेज शासकहरूले हिन्दु धर्मप्रति कुनै सहिष्णुता नराखेकै कारण तिनीहरूले उक्त ढुङगामा चुना लगाउने, टेक्ने, फोहोर गर्ने काम गरियो जसको प्रतिफल स्वरूप ती चुना लगाउने एकको आँखा अन्धो भएको, ती अङ्ग्रेज मालिक गाडी दुर्घटनामा परेको कुरा यस गाउँका बुजुर्ग प्रकाश राईले बताएका छन्। उनीहरू अनुसार यस शङ्खे ढुङ्गाको माथि छानामा सा-सानो शङ्खहरू र मालाका आकार रहेकोले यो ठाउँ पक्कै पनि धार्मिक ऐतिहासिक स्थल रहेको दावी गर्छन्। वर्तमान समयमा पनि यो स्थान स्थानीयहरूको आस्थाका केन्द्रका रूपमा रहेका छन्। जहाँ आस्था र विश्वास छ त्यहाँ धर्म र सत्य बाँचेको हुन्छ। यो स्थान धार्मिक सहिष्णुताको केन्द्रको रूपमा मात्र नरहेर ऐतिहासिक, पुरातात्त्विक विषयसित पनि सम्बन्ध हुनसक्छ। वर्तमान जीटीए व्यवस्थाले यस विषयमा पहल गरे यो क्षेत्र एक धार्मिक पर्यटन स्थलको रूपमा विकसित हुन सकिन्छ भनी स्थानीय विज्ञहरू बताउँछन्।