नयाँ दिल्ली: भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-लाई ठूलो राहत प्राप्त भएको छ अनि खेल मन्त्रालयले महासंघमाथि लगाइएको प्रतिबन्धलाई तत्काल प्रभावको साथ हटाएको छ। डब्ल्यूएफआई-मा गत केही सालदेखि विवाद चलिरहेको थियो अनि खेल मन्त्रालयको यस फसेलापछि विवाद समाप्त हुने संकेत देखिएको छ। खेल मन्त्रालयले सञ्जय सिंहको अगुवाईमा रहने डब्ल्यूएफआई-को कार्यकारी समितिमाथि खेल संहिताको उल्लंघन गरेको आरोपमा निलम्बन लगाएको थियो। कुश्तीको वैश्विक संस्था युनाइटेड वर्ल्ड रेसलिंग (यूडब्ल्यूडब्ल्यू)-ले पनि गत वर्ष सञ्जय सिंहको अगुवाईमा रहने डब्ल्यूएफआई-माथि लगाइएको निलम्बन हटाएको थियो। त्यसपछि भारतीय ओलम्पिक समिति (आईओए)-ले भारतमा कुश्ती खेलको दैनिक कामकाज हेरिरहेको भुपेन्द्र सिंह बाजवाको नेतृत्वमा रहने तदर्थ समितिलाई भंग गर्ने निर्णय लिएको थियो। डब्ल्यूएफआई कार्यकारी समितिका अध्यक्ष सञ्जय सिंहले यूडब्ल्यूडब्ल्यू र आईओए-बाट राहत पाए पनि उनलाई केन्द्र सरकारबाट चाहिँ राहतको प्रतीक्षा थियो, जुन अहिले पूरा भएको छ। सरकारले नियमहरूको उल्लंघन गरेको आरोप लगाउँदै डब्ल्यूएफआई-विरुद्ध कार्वाही गरेको थियो अनि चुनाउ सम्पन्न गरेको ३ दिनपछि नै डब्ल्यूएफआई-लाई निलम्बित गरेको थियो।
डब्ल्यूएफआई-का पूर्व अध्यक्ष बृजभूषण शरण सिंहको नजिकका सञ्जय सिंहको नेतृत्वमा रहने समितिले २१ दिसम्बर २०२३-मा चुनाउ जितेको थियो। त्यसपछि उनीहरूले अण्डर-१५ र अण्डर-२० वर्गको राष्ट्रिय च्याम्पियनशीप गराउने घोषणा गरेका थिए। यस च्याम्पियनशीपको आयोजन स्थल चाहिँ गोण्डा नजिक नन्दिनी नगर राखिएको थियो, जुन बृजभूषणको गढ़ हो। यस कुराले सरकार रिसाएको थियो। यसैकारण खेल मन्त्रालयले २४ दिसम्बर २०२३-मा कार्वाही गर्दै डब्ल्यूएफआई-लाई निलम्बित गर्ने फसेला लिएको थियो। डब्ल्यूएफआई-को निलम्बनले गर्दा पहलवानहरूले धेरै असुविधाहरूको सामना गर्नु पऱ्यो। यसले गर्दा महासंघ र खेल मन्त्रालयबीच सीधा भिड़न्तको स्थिति उत्पन्न भएको थियो अनि यसले सबैभन्दा धेर नोक्सान पहलवानहरूलाई भएको थियो। यसपाली निलम्बन हट्दा घरेलु टुर्नामेण्टहरू आयोजन गर्ने बाटो खोलिएको छ। यसको साथमा अन्तर्राष्ट्रिय टुर्नामेण्टहरूका निम्ति चयनमा पनि दुविधा हुनेछैन। मन्त्रालयले आफ्नो आदेशमा डब्ल्यूएफआई-ले सुधारात्मक कदमहरू उठाएको हुनाले उनीहरूमाथि लगाइएको निलम्बनलाई हटाइएको जानकारी दिएको छ। खेल मन्त्रालयले यसरी लगभग १५ महिनापछि डब्ल्यूएफआई-माथि लगाएको निलम्बनलाई हटायो।