गान्तोक: २४औं राज्यस्तरीय पुम्से ताइक्वान्डो च्याम्पियनसिप आज राजधानी गान्तोकस्थित पाल्जोर स्टेडियमको इनडोर हलमा सम्पन्न भयो। मुख्यमन्त्री प्रेमसिंह तामाङकी धर्मपत्नी कृष्णकुमारी राईको मार्गदर्शनमा र विशेष उपस्थितिमा भएको तीन दिवसीय कार्यक्रमको आयोजन सिक्किम एमोच्योर ताइक्वान्डो संघको तत्वावधानमा भएको हो। यस अवसरमा सिक्किम सरकारका खेलकुद तथा युवा मामिला विभागका मन्त्री राजु बस्नेत मुख्य अतिथिको रूपमा उपस्थित थिए। यसरी नै मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत, एसकेएम पार्टीका प्रवक्ता सञ्जय दिलपाली राईलगायत अन्य विशिष्ट व्यक्तिहरुके उपस्थिति थियो। प्रतियोगिताको समापन समारोहमा विभिन्न विधामा प्रतिस्पर्धीहरू बीच कडा प्रतिस्पर्धा देखियो। प्रतियोगितामा राज्यभरिबाट ६५० भन्दा बढी प्रतियोगीहरूले भाग लिएका थिए। खुला वर्गमा सिक्किम, सिलगडी र दार्जीलिङका खेलाडीहरूले पनि भाग लिएका थिए। क्योङ्सी र पुम्से प्रतियोगिताहरूअन्तर्गत, सिनियर, जुनियर, सब-जुनियर र भेटेरन वर्गहरूबीच प्रतिस्पर्धाहरू आयोजन गरिएको थियो। प्रतियोगितामा खेलाडीहरूले खुला विधामा पनि भाग लिएका थिए। प्रतियोगिताको समापनमा सबै विजेता खेलाडीहरूलाई ट्रफी, प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो।