गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिक्किम अग्निशमन एवं आपातकालीन सेवा विभागअन्तर्गत 13 वटा नयाँ फायर टेन्डरलाई झण्डा हल्लाएर प्रस्थान गराए। राजधानीस्थित रिज पार्कबाट मुख्यमन्त्री तामाङले झण्डा हल्लाएर फायर टेन्डरलाई प्रस्थान गराएका हुन्। आजदेखि जनहितको निम्ति समर्पित वाहनहरूले आपतकालीन अवस्थामा नागरिकहरूको सुरक्षा र संरक्षण सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मुख्यमन्त्रीले बताएका छन्। अग्नि नियन्त्रण एवं नागरिक सेवा पुऱ्याउने राज्यका अग्निशमन कर्मचारीहरूको प्रतिबद्धता र समर्पणको प्रशंसा गर्दै मुख्यमन्त्रीले नागरिक जीवन र सम्पत्तिको सुरक्षामा उनीहरूले गरेको अथक प्रयास उल्लेखनीय बताए। साहसी अग्निशमन कर्मचारीहरुलाई उद्धार कार्यमा सहयोग गर्न सरकारले आधुनिक तकनिकी विस्तारमाथि ध्यान केन्द्रित गरेको बताए। यी नयाँ तकनिकी र उपकरणहरुले उनीहरूको मनोबल बढाउने र कार्य कौशलतामा दक्षता देखापर्ने मुख्यमन्त्री तामाङले बताए। राज्यको आपतकालिन प्रतिक्रिया प्रणालीलाई सुदृढ गर्न र बहादुर कर्मचारीहरूलाई प्रभावकारी जन सेवा गर्न मदत पुऱ्याउने उल्लेख गर्दै मुख्यमन्त्री तामाङले विभागीय पहलप्रति सरकारको सहयोग रहने बताए। पुलिस महानिदेशक अक्षय सचदेवाले आफ्नो सम्बोधनमा विभागप्रति मुख्यमन्त्रीद्वारा गरिएको सहयोगको निम्ति आभार व्यक्त गरे। अग्निशमन विभागअन्तर्गत तेह्रवटा नयाँ फायर टेन्डरहरू थपिएको जानकारी गराउँदै आगलागीको आपतकालीन व्यवस्थापनमा विभागले गरेको अनुकरणीय कार्यको उल्लेख गरे। उनले सिक्किममा अग्नि सेवा सुविधा सुधार गर्न जालीपुल र मल्लीमा पनि दुई नयाँ फायर स्टेशनहरू निर्माण गर्ने जानकारी गराए। कार्यक्रममा अग्निशमन र एसडीआरएफका कर्मचारीहरूद्वारा आयोजित ड्रिल प्रदर्शनको साथसाथै अग्नि गीतको प्रस्तुति पनि गरिएको थियो। स्वागत सम्बोधन गर्दै अग्निशमन विभागका निर्देशक खिलबर्ण गुरुङले तकनिकी रिपोर्ट पनि प्रस्तुत गरेका थिए। उल्लेख्य छ, यी नयाँ १३ वटा फायर टेन्डर आजदेखि विभिन्न अग्निशमन केन्द्रमा तैनाथ गरिएको छ। मुख्यमन्त्रीले यी उपकरणहरूको निरीक्षण र फ्ल्याग अफ गरेपछि फायर टेन्डरहरू विभिन्न अग्निशमन स्टेशनमा पठाइएको छ। सिक्किम पुलिसको तत्वावधानमा आयोजित यस कार्यक्रममा मुख्य सचिव आर तेलाङ, सिक्किम पुलिस र अग्निशमन विभागका अधिकारी र कर्मचारी अनि एसडीआरएफका जवानहरूको उपस्थिति रहेको थियो।