गान्तोक: सिटिजन एक्शन पार्टी सिक्किम (क्याप सिक्किम) का पूर्व अध्यक्ष भरत बस्नेतले पार्टीबाट राजीनामा दिएका छन्। उनले हिजो पार्टी अध्यक्ष गणेश राईलाई पत्र लेखेर पार्टी त्यागेको जानकारी गराएका हुन्। पार्टीको साधरण सदस्यताबाटसमेत राजीनामा दिएको उनले पत्रमा उल्लेख गरेका छन्।
भरत बस्नेतले सिटिजन एक्शन पार्टी, सिक्किम त्याग्नुको कारण पार्टी नेतृत्वको कथित सिक्किम विरोधी बयानबाजी बताएका छन्। सिक्किम प्रति पार्टी अध्यक्ष गणेश राईको पटक पटक कमजोर शब्दको प्रयोगले आफूलाई हृदयमा चोट लागेको कारण पार्टीको साधरण सदस्यतासमेतबाट राजीनामा दिएको उनको भनाइ रहेको छ।
उल्लेखनीय छ, वरिष्ठ राजनीतिज्ञ भरत बस्नेत गत वर्ष सम्पन्न विधानसभा चुनाउको केही अघि सिटिजन एक्शन पार्टी, सिक्किममा सामेल भएका थिए। पछि उनलाई पार्टीको अध्यक्ष चयन गरियो भने अध्यक्ष छँदा नै उनले सिटिजन एक्शन पार्टी, सिक्किमको टिकटमा लोकसभा चुनाउ लड़ेका थिए। चुनाउमा राम्रो जनमत पाए तापनि विजयी हुन नसकेपछि नैतिकताको आधारमा चुनाउ पछि अध्यक्षको पदबाट राजीनामा दिएका थिए।
पूर्व अध्यक्ष बस्नेतले पार्टीबाट राजीनामा दिएका सामाजिक सञ्जालबाट प्राप्त जानकारीकै आधारमा पार्टी अध्यक्ष गणेश राईले त्यसलाई स्विकार गरेको पार्टीले विज्ञप्ती जारी गरेर जानकारी गराएको छ।