नयाँ दिल्ली: भारतीय क्रिकेट टीमले दुबईमा न्यूजील्याण्डलाई ४ विकेटले पराजित गरी तेस्रोपल्ट आईसीसी च्याम्पियन्स ट्रफीको खिताब जितेपछि प्रशंसकहरूलाई खेलाड़ीहरू स्वदेश फर्किएपछि ओपन बस परेड (भिक्ट्री परेड) हुने आशा थियो तर व्यस्त कार्यक्रमहरूले गर्दा त्यस्तो केही हुनेछैन। भारतीय खेलाड़ीहरू दुबईबाट फर्किएपछि आ-आफ्नो शहर फर्किनेछन्। यसले गर्दा ओपन बस परेडको सम्भावना समाप्त भएको छ। इण्डियन प्रीमियर लीग (आईपीएल) को नयाँ सीजन २२ मार्चदेखि शुरु हुनेछ। यसैकारण खेलाड़ीहरू मैदानमा ओर्लिन अघि शरीरलाई ब्रेक दिन चाहन्छन्। त्यसपछि उनीहरू तरोताजा भएर आ-आफ्नो फ्रेञ्चाइजीमा सामेल हुनेछन्। यसैकारण भारतको १२ सालपछि ५० ओभरको प्रारूपमा वैश्विक खिताब जितेको खुशीयालीमा कुनै विजयोत्सव हुनेछैन कारण बीसीसीआई र खेलाड़ीहरू दुवैसँग यसको निम्ति समय छैन। गत वर्ष टी२० वर्ल्ड कपको खिताब जितेपछि भारतीय क्रिकेट टीमले मरीन ड्राइव र पछिबाट वानखेड़े स्टेडियममा खुशीयाली मनाएको थियो तर यसपाली त्यस्तो केही हुनेछैन।