जे.के.बराईली, नयाँ दिल्ली
भारतको सर्वोच्च साहित्यिक संस्था साहित्य अकादमीले सृजनशील साहित्यको लागि दिइने सर्वोच्च पुरस्कारले मो २४भारतीय भाषाका साहित्यकारहरूलाई सम्मानित गर्दा यसपाली नेपाली साहित्यमा ‘छिचिमिरा’ कथा संग्रहका कथाकार युवा बराल (अनन्त) लाई अकादमी पुरस्कारले सम्मानित गरिएको छ। प्रतिवर्ष विविध विधामा लेखिएका कृतिहरूलाई आ-आफ्ना भाषाका निर्णयक गणले चयन गरेपछि त्यसैको आधारमा अकादमीले मार्च ८ तारीख (२०२५) को दिन आयोजित ‘साहित्योत्सव’ कार्यक्रममा भारतीय भाषाका उत्कृष्ट कृतिहरूका लागि कृतिको सर्जकहरूलाई अकादमी पुरस्कारले विभूषित गरेको छ । यो पुरस्कार वर्ष २०२४ का लागि दिइएको हो।
एशियाकै सबैभन्दा ठूलो साहित्यिक कार्यक्रमको रूपमा रहेको ‘साहित्योत्सव’मा अकादमी पुरस्कार अर्पण कार्यक्रम नयाँ दिल्लीको मण्डी हाउस निकट कोपरनिकस मार्गमा स्थित कमानी अडिटोरियममा साँझ ठीक पाँच बजेदेखि आरम्भ भएको थियो। कार्यक्रमको अध्यक्षता सा. अ. का अध्यक्ष माधव कौशिकले गर्नु भयो। मुख्य अतिथिको रूपमा प्रख्यात अङ्ग्रेजी नाटककार तथा रंगव्यक्तित्व महेश दत्तानीलाई आसन ग्रहण गराइयो।
कार्यक्रमको थालनी सरस्वती वंदना गायनबाट भएको थियो। त्यसपछि कार्यक्रमको सुरुआत गर्दै साहित्य अकादमीका सचिव के. श्रीनिवासरावले आफ्नो स्वागत वक्तव्य प्रस्तुत गर्नु भयो। उहाँको आग्रहमा सा.अ. का अध्यक्ष माधव कौशिकले प्रमुख अतिथिलाई पुष्प गुच्छाले स्वागत गर्दै दोसल्ला पहिऱ्याँदै एबं कृतिहरू भेंट गर्दै स्वागत जनाउनु भयो।
आफ्नो सम्बोधनमा सा.अ. का सचिव के. श्रीनिवासरावले पुरस्कार ग्रहण गर्नलाई मञ्चमा विराजमान सबै भाषाका साहित्यकारहरूप्रति स्वागत र अभिनन्दन व्यक्त गर्नुभयो। उहाँले साहित्यले सदैव समाजको प्रतिबिम्ब प्रस्तुत गर्छ भन्दै साहित्यको दायित्वबारे प्रकाश पार्नुभयो। अकादमीले पाँच विभिन्न विधाहरूमा लेखकहरूलाई पुरस्कृत गर्दै आएको जनाउँदै उहाँले विगत वर्ष साहित्य अकादमीले गरेको सबै गतिविधिबारे संक्षिप्त टिपोट प्रस्तुत गर्नु भयो। त्यसपछि उहाँले प्रमुख अतिथि, सा.अ.का अध्यक्ष र उपाध्यक्षको संक्षिप्त परिचय सबैका सामु राख्नुभयो।
त्यसपछि कार्यक्रमका अध्यक्ष तथा सा.अ का अध्यक्ष माधव कौशिकलाई केही शब्द राख्ने आग्रह गरियो। आफ्नो अध्यक्षीय भाषणमा उहाँले २४ भाषाका साहित्यकारहरूलाई वधाई दिँदै विविध भाषा-साहित्यका पुस्तकहरू प्रकाशन गर्ने साहित्य अकादमी सरह अन्य कुनै प्रकाशन नरहेको बताउनु भयो। साहित्यले सदैव मानवीय सम्वेदनालाई आफूसित लिएर हिँड़ेको हुन्छ भन्दै उहाँले मञ्चमा विराजमान साहित्यकारहरूका उत्कृष्ट कार्यको सराहना गर्नु भएको थियो ।
त्यसपछि पुरस्कार अर्पण कार्यक्रम सुरू भयो। साहित्य अकादमीको परम्पराअनुसार पुरस्कार अर्पण गर्दा सर्वप्रथम सा.अ. का उपाध्यक्षले स्रष्टालाई पुष्पगुच्छाले सम्मानित गर्ने एबं त्यसपछि सा.अ. का अध्यक्षद्वारा दोसल्ला, सा.अ. को लोगो अंकित रहेको स्मृति चिन्ह र पुरस्कारको रकम प्रदान गर्दै सम्मानित गर्ने प्रचलन छ।
यही परम्पराअनुसार साहित्यकारहरूलाई पुरस्कार अर्पण गर्ने क्रम सुरू गर्दै सबैभन्दा पहिले असमी भाषाका कवि समीर ताँतीलाई उनका कविता संग्रह ‘फरिङ्बुरे बाटर कथा जाने’ को लागि पुरस्कारले सम्मानित गरियो। यसरी नै पुरस्कार अर्पणको क्रम अघि बढ़दै गएपछि चौधौं क्रममा नेपाली साहित्य बिधाका कथाकार युवा बराल ‘अनन्त’-लाई उहाँको उत्कृष्ट कथा संग्रह ‘छिचिमिरा’-को लागि पुरस्कारले सम्मानित गरियो। पुरस्कार अर्पणकै क्रममा सा.अ. का सचिवले कथाकार युवा बरालको संक्षिप्त परिचय पनि वाचन गरेर सुनाउनु भयो।
भारतीय नेपाली भाषी साहित्यकारहरूले आफ्नो कृतिको आधारमा प्राप्त गर्ने पुरस्कारहरूम्ध्ये अकादमी पुरस्कार चाहिँ एक सर्वोच्च राष्ट्रिय साहित्यिक पुरस्कार हो। संताली भाषामा पुरस्कार प्राप्त गर्ने महेश्वर सोरेन यसपटक पुरस्कार प्राप्त गर्नेहरूमा सबैभन्दा कान्छो स्रष्टा थिए। उनको जन्म सन् १९८० मा ओड़िसाको मयूरभंजमा भएको थियो।
पुरस्कार अर्पण गरिएपछि मुख्य अतिथिको वक्तव्यको पालो थियो। यस क्रममा प्रमुख अतिथि शिद्धहस्त अङ्ग्रेजी नाटककार एंव रङ्गव्यक्तित्व महेश दत्तानीले अङ्ग्रेजीमा सारगर्भित भाषण प्रत्सुत गर्नुभयो। उहाँले साहित्य अकादमी पुरस्कार अर्पण कार्यक्रमलाई लेखकहरूका ‘मेगा शो’ बताउँदै भिन्न भिन्न भाषा र साहित्य रहेको देशको विविधताभित्र सबै भाषाका साहित्यकारहरूलाई सम्मानित गर्ने साहित्य अकादमी जस्तो अरू कुनै संस्था आफूले नदेखेको बताउनु भयो। यस्तो विविधताभित्र साहित्य अकादमीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उहाँले भन्नुभयो, लेखकहरूले आफ्नो रचना र अनुवादको माध्यमले विश्वमा मानव अनुभूतिलाई सम्प्रेषण गरेको हुन्छ।
अन्तमा कार्यक्रम समापनको क्रममा सा.अ. का उपाध्यक्ष कुमुद शर्माले मनमोहक शैलीमा आफ्नो वक्तव्य प्रस्तुत गर्नु भयो। उहाँले वसन्त ऋतुकै साइत पारेर साहित्य अकादमीले आयोजन गरेको साहित्योत्सव सम्बन्धमा बोल्दै साहित्य पनि एक उत्सव नै हो, यसले जीवनको विविध रङ्गलाई समेटेको हुन्छ भन्नुभयो। उहाँले भन्नुभयो, साहित्यकारले जीवनलाई निकटरूपमा हेर्छ र यर्थाथतालाई पस्किने काम गर्छ। साहित्यले आउने पिढ़ीको लागि मार्ग अन्वेषण गर्छ भन्दै उहाँले साहित्य एक साधना हो र साहित्यकारहरू साधक हुन्, उनीहरूको सम्मान हुनु आवश्यक रहेको बताउनु भयो। रङ्गहरूमा साहित्यकारहरूका लागि सबैभन्दा प्रिय रङ्ग हो मानवताको रङ्ग भन्दै उहाँले ‘साहित्योत्सव’ कार्यक्रम सफल बनाउनुमा सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गर्नु भयो।
समापन वक्तव्य पछि पुरस्कार अर्पण कार्यक्रमको क्रम सकिए तापनि लगत्तै एक सांस्कृतिक कार्यक्रम सुरू भयो, जस अन्तर्गत प्रख्यात बाँसुरी वादक राकेश चौरसियाले आफ्नो वादन प्रस्तुत गर्नुभयो। त्यसपछि उक्त दिनको सम्पूर्ण कार्यक्रमको समापन भयो। कार्यक्रममा विभिन्न भारतीय भाषाका प्रख्यात विद्वान, साहित्यकार, अध्येता र सबै भारतीय भाषाका साहित्यानुरागीहरू लगायत मिडियाकर्मीहरूका उपस्थितिले कमानी सभागार खचाखच भरिएको थियो।

अब पुरस्कृत श्रष्टा युवा बराल ‘अनन्त’ र ‘छिचिमिरा’ बारे
नेपाली साहित्यमा ‘छिचिमिरा’ कथा संग्रहमा अकादमी पुरस्कार प्राप्त गर्ने कथाकार युवा बराल ‘अनन्त’-को जन्म सन् १९७३ को अप्रिल ६ तारीख सिक्किमको पाकिममा भएको हो। उत्तर बङ्गाल विश्वविद्यालयबाट स्नातक तहसम्मको शिक्षा आर्जन गरि सिक्किम सरकारको विद्यूत विभागमा कार्यरत श्री बराल अंग्रेजी र हिन्दी भाषाको पनि ज्ञाता हुनु हुन्छ। उहाँको एउटा कविता संग्रह पहिले प्रकाशित भई सकेको छ। त्यसपछि तीनवटा कथा संग्रह प्रकाशित भए, जसमा ‘छिचिमिरा’ कथा संग्रहले अकादमी पुरस्कार प्राप्त गरेको हो। ‘छिचिमिरा’-को दोस्रो संस्करण समेत प्रकाशित भइसकेको छ। ‘छिचिमिरा’ कथा संग्रहलाई अकादमीले नेपाली भाषामा लेखिएको लघु कथाहरूका एक उत्कृष्ट सङ्गालो मानेको छ। सक्षिप्तमा भन्नु पर्दा यसमा समाविष्ट कथाहरू नेपाली समाजका विभिन्न पक्षहरूलाई विस्तृत एवं सारगर्भित रूपमा समेटेको छ भने वर्तमानमा देखा परिरहेका सामाजिक, सांस्कृतिक, आर्थिक, नैतिक, शैक्षिक र राजनीतिक परिवेशलाई पनि प्रतिबिम्बित गर्न सक्षम रहेको छ।
कथाकार युवा बरालले यसभन्दा अघि नै अन्य धेरै पुरस्कारहरू प्राप्त गरिसक्नु भएको छ, जस्तै
पुरस्कारहरू:-
१) ‘रचना पुस्तक एवं प्रकाशन तथा करुणादेवी धर्मार्थ गुठी’ गान्तोकद्वारा आयोजित “अन्तर्राष्ट्रिय कथा अनुष्ठान” मा आफ्नो कथा ‘जिउनी’लाई प्रथम पुरस्कार
२) पश्चिम सिक्किम साहित्य प्रकाशन गेजिङ्गबाट कथा विद्यामा “स्रष्टा पुरस्कार”
३) ‘सागर प्रकाशन’ ताक्छाङ्ग (पाकिम) पूर्व सिक्किमबाट ‘गाँउले आवाज सागर सम्मान’ पुरस्कार -२००८
४) “समय कथा-२” कथा प्रतियोगिता गान्तोकबाट आफ्नो कथा ‘पाइलापछिका पाइलाहरु” लाई प्रथम पुरस्कार – २०१०
५) “जिउनी” कथा सङ्ग्रहलाई गान्तोकबाट ‘डा शोभा कान्ति थेगिम लेप्चा स्मृति’ पुरस्कार।
६) “स्पन्दन नव साहित्य प्रतिभा पुरस्कार”, दुलियाजान आसामबाट २०१५
७) ‘विश्व शान्ति काव्यसेतु सम्मान’, लुम्बिनी, नेपाल २०१५
८) काव्यरत्नश्री पुरस्कार, भारतीय नेपाली साहित्य प्रतिष्ठान, तेजपूर आसामबाट २०१९
९) ‘छिचिमिरा’ कथा सङ्ग्रहलाई पश्चिम सिक्किम साहित्य प्रकाशन, गेजिङ्गबाट ‘लालमान सञ्चरानी स्मृति पुरस्कार’- २०२१
१०) छिचिमिरा कथा सङ्ग्रहलाई तुलसीराम कश्यप स्मृति प्रतिष्ठानद्वारा प्रदान गरिने ‘तुलसीराम कश्यप स्मृति पुरस्कार” – २०२२
११) सिद्धार्थ तथागत कला साहित्य संस्थान इटवा सिद्धार्थ नगर उत्तर प्रदेशबाट साहित्य सेवाको निम्ति ‘साहित्य सृजन सम्मान’ – २०२२
१२) साहित्य आसार संस्थान इस्लामपुर पश्चिम बङ्गालबाट साहित्य सेवाको निम्ति ‘सृजन साहित्य आसार सम्मान’ – २०२३
१३) ‘प्रियजनेषु काव्य सम्मान’ – मालदा पश्चिम बङ्गाल – २०२४