गान्तोक: राजधानीस्थित चिन्तन भवनमा आज कञ्चनजङ्गा राज्य विश्विद्यालयको तेस्रो दीक्षान्त समारोह सम्पन्न भयो। सिक्किमका राज्यपाल एवं विश्वविद्यालयका कूलाधिपति ओमप्रकाश माथुरको उपस्थितिमा पालन गरिएको कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित थिए। शिक्षा विभागीय मन्त्री राजु बस्नेत विशिष्ट अतिथि थिए। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल माथुरले संस्कृत अनि नेपाली विषय़का विद्यार्थीहरूलाई उनीहरूको उत्कृष्ट शैक्षिक प्रदर्शनको निम्ति स्वर्ण अनि रजत पदक प्रदान गरे। यस अवसरमा राज्यपालको बाहुलीबाट कूल ४३ जना विद्यार्थीहरूलाई डिग्री प्रदान गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल माथुरले शिक्षाको महत्वमाथि जोड दिए। उनले विद्यार्थीहरुको मिहेनत र समर्पणको लागि बधाई दिए। यसका साथै विश्वविद्यालयले शिक्षासंगै भाषाप्रति देखाएको गम्भीरताप्रति सम्पूर्ण टीमलाई बधाई दिए। राज्यपालले विश्वविद्यालयले क्षेत्रीय भाषाको विकास गर्न उठाएको उल्लेखनीय कदमका लागि विश्वविद्यालयका शिक्षण अनि गैरशिक्षण सदस्यहरुको खुलेर सराहना गरे। राज्यपालले मातृभाषाको विकासमाथि जोड दिँदै मातृभाषाको माध्यमद्वारा ग्रामीणस्तरको विविधताको ज्ञानलाई राम्रोसँग बुझ्न सकिने मात्र नभएर आफ्नो संस्कृति र परम्परालाई बलियो बनाउन सहयोग मिल्ने विचार प्रकट गरे। राज्यपालले भाषाको महत्वमाथि जोड दिँदै भाषा केवस संवादको माध्यम मात्र नभएर संस्कृति, परम्परा, ज्ञान अनि जीवनको अनुभवको वाहककोरूपमा चिनिने बताए। विश्वमा जब कुनै पनि भाषाको विलुप्त हुन्छ तब उक्त समुदायको इतिहास र अस्तित्व पनि लोप भएर जाने जानकारी गराए। उनले कार्यक्रममा उपस्थित सबैलाई भाषाको संरक्षणको दिशामा पहल गर्नुपर्ने विषयमा जोड दिए। राज्यपालले विद्यार्थीहरूलाई डिग्रीको उपयोग व्यक्तिगतस्तरमा नभएर समाजको उत्थान साथै राष्ट्रको प्रगतिको निम्ति पनि उपयोग गर्ने सुझाउ दिए। विद्यार्थीहरूले अर्जन गरेका कौशल र समर्पणले समाजको कमजोरवर्गको हितमा प्रयोग गर्ने उल्लेख राज्यपालले गरे। स्मपरण रहोस्, कञ्चनजङ्गा विश्वविद्यालयमा पाँच प्रमुख भाषाहरूमा अध्ययन गराइन्छ। जसमा संस्कृत, नेपाली, लेप्चा, भोटिया र लिम्बू भाषा छन्।