एक नेताको ‘प्रलयको भविष्यवाणी’ ले कम्बोडियामा हंगामा मच्चियोl वास्तवमा कम्बोडियाका नेता खेम भिसनाले सामाजिक सञ्जालमा पोष्ट गर्दै सारा विश्व विनाशकारी बाढीको मुखमा उभिएको दाबी गरेका छन्। पहाडमा रहेको आफ्नो खेतमा आश्रय लिनेहरू मात्र यो बाढीबाट बच्ने उनले दावी गरे। लगत्तै लिग फर डेमोक्रेसी पार्टी (एलडीपी)का अध्यक्ष खेम भिसनाको यो पोस्ट भाइरल भयो। त्यसको देशभर चर्चा भयो। खेमका समर्थकहरु उनको कुलेन पहाडस्थित फार्म हाउसमा पुग्न थाले। मानिसले खेमले उल्लेख गरेको ठाउँमा गएर बाढीको प्रकोपबाट बच्न सकिने कुरा पत्याए र त्यहाँ जान थाले।
स्थानीय सञ्चारमाध्यमका अनुसार सिअम रेअप प्रान्तमा खेम भिसनाले बताएको ठाउँमा ३० हजारभन्दा बढी मानिस पुगे। जसका कारण पूरै क्षेत्रमा अराजकताको वातावरण बनेको थियो। अन्य देशहरूमा काम गर्ने मानिसहरू पनि खेमको कुरा पत्याएर कम्बोडिया फर्कन थाले। खेम भिसनाले आफ्नो खेतमा भेला भएका मानिसहरुको तस्बिर फेसबुकमा पोस्ट गरेका छन्। अगस्ट २६ मा फेसबुकमा एक पोस्टमा उनले आफूलाई भगवान ‘ब्रह्मा’ भनेका थिए। उनले आफ्ना अनुयायीहरूलाई ‘सबैभन्दा विनाशकारी बाढी’का लागि सम्पूर्ण विश्व तयार रहनुपर्ने बताए। उनले आफ्नो खेत मात्र बाढीको चपेटामा पर्दैन, त्यसैले सबैजना त्यहाँ पुगेर आफ्नो र आफ्नो परिवारको जीवन बचाउनु पर्छ भनेका थिए। खेमको यो पोस्टपछि चारैतिर हल्ला फैलियो। उनको फार्ममा देशका कुना–कुनाबाट मानिसहरु पुग्न थाले। यति मात्र होइन, दक्षिण कोरिया, जापान, थाइल्यान्डलगायत देशबाट मानिसहरु फर्किन थाले। जसका कारण कम्बोडियाका प्रधानमन्त्री हुन सेनले समेत हस्तक्षेप गर्नु परेको थियो। उनले हल्लामा ध्यान नदिन सर्वसाधारणलाई आग्रह गरे। प्रधानमन्त्रीले प्रशासनलाई कडाइ गर्न निर्देशन पनि दिएका छन्। यो प्रतिपक्षको राजनीतिक स्टन्ट भएको पनि उनले बताए। सत्तारुढ दलले विपक्षी नेता खेम भिसनाले पुरानो बाढीको भिडियो सार्वजनिक गरेर जनतामा डर पैदा गरेको आरोप लगाएको छ। प्रशासनले चेतावनी दिँदै भीड जम्मा गर्न नरोके खेममाथि कारबाही गर्ने जनाएको छ।