नेपाली भाषालाई प्रतिनिधित्व गर्दै खरसाङबाट आशा मुखिया लामा नयाँ दिल्लीमा हुने साहित्योत्सव कार्यक्रमको लागि प्रस्थान

IMG-20250309-WA0224

खरसाङ: नेपाली भाषालाई प्रतिनिधित्व गर्दै खरसाङबाट वरिष्ठ साहित्यकार आशा मुखिया लामा नयाँ दिल्लीमा हुने साहित्य अकादमीको वार्षिक साहित्यिक कार्यक्रम ‘साहित्योत्सव’ मा सहभागी हुनलाई आईतबार दिल्ली प्रस्थान गरेकी छन्। साहित्य अकादमीद्वारा दिल्लीमा गत ७ मार्चदेखि आगामी १२ मार्च २०२५ सम्म हुने भनिएको एशियाकै ठूलो साहित्यिक कार्यक्रम ‘साहित्योत्सव’ मा भाग लिन उनी दिल्ली प्रस्थान गरेकी हुन्। उनले सोमबार उक्त कार्यक्रममा नेपाली भाषाको प्रतिनिधित्व गर्दै नेपाली भाषामा‌ कविता पठन गर्नेछन्। उनले प्रथममा नेपाली भाषामा अनि त्यसपछि हिन्दी र अङ्ग्रेजी भाषामा अनुवाद गरिएको कविता पनि सुनाउनेछन्। उक्त कार्यक्रमको अध्यक्षता चन्द्रशेखर कमवारले गर्नेछन् भने नेपाली भाषामा आशा मुखिया लामाबाहेक सिन्धी, उडिस्सा, तेलुगु, मराठी भाषामा पनि कविताहरु वाचनको कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ। साहित्य अकादमीद्वारा दिल्लीमा आयोजित साहित्यिक कार्यक्रम ‘साहित्योत्सव’ मा नेपाली भाषामा आशा मुखिया लामाबाहेक अरु पनि रहेका छन्।‌ तर उनी यस कार्यक्रममा नेपाली भाषामा‌ प्रतिनिधित्व गर्ने एक मात्र नारी साहित्यकार रहेको जानकारी प्राप्त भएको छ। आशा मुखिया लामा वरिष्ठ साहित्यकार एंव समाजसेवी साथै सांस्कृतिक अभियन्ता पनि हुन्। उनी हालमा साहित्य अकादमी नेपाली भाषा परामर्श समितिको सदस्या पनि हुन्। आशा मुखिया लामाले नेपाली साहित्यमा थुप्रै कृतिहरू प्रकाशित गरिसकेका छन्। उनको रहर अक्षर, गाडधन, चिसो मरुभूमितिर कृतिहरु प्रकाशित छन् भने गोर्खा जनपुस्तकालयद्वारा पुनः प्रकाशित चन्द्रिकाको १, २ र ३ मा सह सम्पादन गरेका छन्‌ त्यसरी नै उनले प्रतिष्ठित व्यक्तित्व संस्मरण, संस्कृति विशेषाङ्क, भाषा परिसंवाद अनि समसामयिक विमर्श, मेरो जन्मथलो र कर्म थलोको कथा आदि पनि सम्पादन गरिसकेका छन्‌। विभिन्न सांस्कृतिक र सामाजिक संस्थाहरुसित जोडिएर साहित्यिक र सामाजिक कार्यमा सक्रिय रुपमा लागि परेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement