खरसाङ: खरसाङको वार्ड नम्बर १७ का नारी प्रगति संस्थाद्वारा अन्तर्राष्ट्रिय नारी दिवस पालन गरिएको छ। अन्तर्राष्ट्रिय नारी दिवस केवल नारीहरूलाई सम्मान गर्न मात्र होइन तर एक सन्तुलित अनि विकसित समाजको निम्ति नारीहरूको भूमिका कति महत्वपूर्ण छ सो विषय समाजलाई स्मरण गराउनका निमित्त पनि नारी दिवस पालन गरिन्छ भन्ने उद्देश्यका साथमा खरसाङको वार्ड नम्बर १७ नयाँ बजारस्थित राजबारी रानीकूप, नारी प्रगति संस्थाले संस्थाका अध्यक्षा पासाङ लमु भोटियाको अध्यक्षतामा भब्यतापूर्वक मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा संस्थाका दिवंगत संस्थापक सदस्याहरूको स्मरणमा संस्थाका वरिष्ठ नारीहरूको बाहुलीद्वारा १०८ दिप प्रज्वलन गरी कार्यक्रम प्रारम्भ गरियो। धेरै वर्षदेखि संस्थाले नारी केन्द्रित विभिन्न ठूला ठूला कार्यक्रमहरू आयोजन गर्दै आएका थिए भने यस वर्ष २०२५ मा संस्थाका वयस्क नारीहरू लगायत युवतीहरूलाई सामुदायिक उत्सवको रूपमा खेलहरू खेलाउँदै अन्तर्राष्ट्रिय नारी दिवस पालन गर्नुको मुख्य उद्देश्य अनि महत्व विषय सदस्यावृन्दलाई अवगत गराइएको जानकारी सचिव प्रनिता मुखिया घिसिङले दिएकी छन्। कार्यक्रमको सञ्चालन सुप्रिना गिरी शर्माले गरेका थिए।