वरिष्ठ साहित्यकार मदन ओझाको अभिनन्दन ग्रन्थ ‘सिर्जनाको पखेरोमा मदन ओझा’ पुस्तकको लोकार्पण

IMG-20250309-WA0210

खरसाङ: वरिष्ठ साहित्यकार, कवि एंव गीतकार मदन ओझाको अभिनन्दन ग्रन्थ ‘सिर्जनाको पखेरोमा मदन ओझा’ पुस्तकको लोकार्पण सिलगढीको देवकोटा संघमा एक साहित्यिक कार्यक्रमबीच लोकार्पण गरिएको छ। उक्त लोकार्पण कार्यक्रमको अध्यक्षता वरिष्ठ साहित्यकार लोक थापाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार डा जीवन नामदुङ उपस्थित रहेका थिए। केबी नेपाली र डा. सुकराज दियालीको सम्पादनमा रहेको मदन ओझा अभिनन्दन ग्रन्थ ‘सिर्जनाको पखेरोमा मदन ओझा’ लोकार्पण कार्यक्रममा स्वागत सम्भाषण सुकराज दियालीले राखेका थिए भने कार्यक्रमलाई सुमित्र‌ अविरलले सञ्चालन गरेका थिए। गायिका सोनु राईको सरस्वती बन्दनाबाट शुरु गरिएको कार्यक्रममा साहिल सिंह सुनवार र राजु राईले पनि गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा लोकार्पित पुस्तक ‘सिर्जनाको पखेरोमा मदन ओझा’ माथि प्रदीप रसाइलीले समीक्षात्मक टिप्पणी राखेका थिए भने वरिष्ठ साहित्यकार मदन ओझाको परिचयात्मक वक्तव्य वरिष्ठ साहित्यकार नन्द हाङ्खिमले राखेका थिए। कार्यक्रममा अभिनन्दन ग्रन्थमसथि सम्पादकीय टिप्पणी पुस्तकको सम्पादक केबी नेपालीले‌ राखेका थिए। यसै कार्यक्रममा वरिष्ठ साहित्यकार मदन ओझाद्वारा लिखित विविध रचनाहरुको संगालो ‘बिर्सन नसकिने पलहरु’ नामक पुस्तकको पनि लोकार्पण गरिएको छ। उक्त पुस्तकमाथि समीक्षात्मक टिप्पणी डा. कृष्णराज घतानीले राखेका थिए‌। यसै कार्यक्रममा वरिष्ठ साहित्यकार केबी नेपाली, डा. सुकराज दियाली र प्रदीप रसाईलीलाई राङभाङ् साहित्य सम्मान पनि प्रदान गरिएको थियो।‌ कार्यक्रममा प्रमुख अतिथिको रुपमा आफ्नो सम्बोधन राख्दै वरिष्ठ साहित्यकार डा. जीवन नामदुङले साहित्यकार मदन ओझा जिउँदै अमर बनेका छन् भनी बताएका छन्। उनले मानिसको जीवन क्षणिक हो तर साहित्यले‌ मानिसको जीवनलाई अमरत्व प्रदान गर्छ भनी बताएका छन्। डा जीवन नामदुङले भने, ‘मदन ओझाले एकनिष्ठ भएर लेखिरहे। ६०-७० वर्षको लामो समयसम्म लेखिरहेका छन्। उनले आयमिकभन्दा अघिदेखि लेख्दै आएका हुन्। हामीले मदन ओझालाई खोज्नु नागरी जानु पर्दैन।‌ सिलगढी जानु पर्दैन तर यही अभिनन्दन ग्रन्थमा सबै कुरा छ।’ उनले अघि भने, मदन ओझाको मूल्यांकन हुन आवश्यक छ। मदन ओझा गीतकार, कवि, प्रयोगवादी कवि, शिक्षक, समाजसेवी सबै हुन्। उनीमाथि अझैं अनुसन्धान हुन आवश्यक छ।’


कार्यक्रममा सभाध्यक्षको‌ आसनबाट बोल्दै वरिष्ठ साहित्यकार लोक थापाले मदन ओझाको कविताहरु गीतको लयमा आबध्द रहेको र उनको कविताहर संगीतात्मक रहेको र यस विषयमा छुट्टै विमर्श हुन आवश्यक रहेको बताएका छन्। उनले भने, ‘मदन ओझा अभिनन्दन ग्रन्थ ‘सिर्जनाको पखेरोमा मदन ओझा’ पुस्तकमाथि पाठक प्रतिक्रिया आवश्यक छ।’ उनले कवि मदन ओझा र उनको परिवारप्रति आभार प्रकट गरेका छन्। यस कार्यक्रममा‌ विभिन्न स्थानहरुबाट‌ साहित्यकारहरु उपस्थित रहेका थिए।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement