गान्तोक: राज्यका राज्यपाल ओमप्रकाश माथुरले अन्तराष्ट्रीय महिला दिवसको अवसरमा राज्यबासीलाई शुभकामना दिएका छन्। उनले राज्य साथै विश्वभऱिका महिलाहरूलाई शुभकामना व्यक्त गरेका छन्। राज्यपालले आफ्नो शुभकामना सन्देशमा महिलाहरू आदिमकालदेखि नै मानव सभ्यताको आधारशिला रहँदै आएको उल्लेख गरेका छन्। महिलाहरूको करुणा, समर्पण र शक्तिले समाजको प्रगति र आज देखिएको विश्व व्यवस्थाको पछि पनि सँधै महिला प्रेरक शक्तिको रूपमा काम गर्दै आएको बताएका छन्। महिलाहरूको अमूल्य योगदानले राष्ट्रको विकास मात्र नभई विश्वव्यापी परिदृश्यलाई आकार दिन प्रेरणादायी भूमिका निर्वाह गर्दै आएको उनको भनाइ रहेको छ। उनले थप जानकारी गराएअनुसार सिक्किम राज्यका महिलाहरूले वर्षौंदेखि शिक्षा, स्वास्थ्य सेवा र उद्यमशीलता लगायत विभिन्न क्षेत्रहरूमा उल्लेखनीय प्रगति गर्दै आइरहेका छन्।
महिलाहरूले विभिन्न क्षेत्रमा हासिल गरेको उपलब्धिहरू, उनीहरूलाई सशक्त बनाउने वातावरणलाई निरन्तर बढावा दिँदै समान अवसरहरू प्रदान गर्नको साथै गुनासो मञ्च उपलब्ध गराउनु पर्ने राज्यपालले सुझाउ दिएका छन्। बाल्यकालदेखि नै प्रत्येक व्यक्तिलाई मार्गदर्शन गर्न महिलाहरूले निर्वाह गरेको योगदानको राज्यपालले प्रशंसा गरेका छ। यसै क्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि अन्तराष्ट्रीय महिला दिवस २०२५ को अवसरमा राज्यबासीलाई बधाई साथै शुभकामना व्यक्त गरेका छन्। महिलाहरूले हासिल गरेको उपलब्धि साथै उनीहरूको योगदानको कदर गर्दै मनाउने गरेको मुख्यमन्त्रीले आफ्नो शुभकामना सन्देशमा उल्लेख गरेका छन्। महिलाहरूलाई सशक्त बनाउन, उनीहरूको अधिकार सुनिश्चित गरेर अवसर प्रदान गर्न सरकार कटिबद्ध रहेको उल्लेख पनि गरेका छन्। उनले भने, महिलाहरू परिवार, समुदाय र समाजका मेरुदण्ड हुन्। शासन, शिक्षा, स्वास्थ्य सेवा, व्यवसाय अर्थात सामाजिक सेवा, हरेक क्षेत्रमा उनीहरूको योगदान अमूल्य रहेको बताए।