गान्तोक: ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमको नयाँ कार्यकारी समिति लगायत कार्यालय पदाधिकारीहरूको चुनाउ सफलतापूर्वक सम्पन्न भयो। चार वर्षको निम्ति कार्यालय पदाधिकारी र कार्यकारी समितिको निम्ति चुनाउ सम्पन्न भएको थियो। राजधानीस्थित पाल्जोर स्टेडियममा सम्पन्न भएको चुनाउमा राज्यका विभिन्न जिल्लाबाट 58 सदस्यहरूले सहभागिता जनाएका थिए। विशेष गरेर चुनाउमा सहभागिता जनाउनेहरूमा ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमसँग आबद्ध भएको क्लब र संस्थाका सदस्यहरू सामेल रहेका थिए। नवगठित समितिका सदस्यहरूले राज्यमा ब्याडमिन्टनको लागि प्रतिबद्धता देखाएका छन्। जसको उद्देश्य सबै तहका खेलाडीहरूका लागि पूर्वाधार, प्रशिक्षण कार्यक्रम र प्रतिस्पर्धात्मक अवसरहरू प्रदान गर्नु रहेको छ। ब्याडमिन्टन एसोसिएसन अफ् सिक्किमले खेलको प्रवर्द्धन, युवा प्रतिभालाई प्रोत्साहन र यस क्षेत्रमा ब्याडमिन्टनको प्रतिष्ठालाई अझ माथि उठाउनको निम्ति विभिन्नस्तरमा प्रतियोगिताहरू आयोजना गर्न कोशिष गरिरहने बताएका छन्। ब्याडमिन्टन एसोसिएसन अफ् सिक्किमले चुनावमा भाग लिएका सबै सदस्यहरू, क्लबहरू र सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी सफल कार्यकालको निम्ति आशा व्यक्त गरेको छ। आज सम्पन्न भएको चुनाउमा अध्यक्षको पदमा गान्तोकबाट जेकब राई, उपाध्यक्ष पदमा महेन्द्र छेत्री, सोनाम वाङदी भोटिया, छिरिङ नामग्याल ग्याछो र थेन्डुप छितेन भोटिया रहेका थिए भने महासचिवको पदमा सुकन्त दास रहेका छन्। यसरी नै संयुक्त सचिवको पदमा किरण कुमार प्रधान, ज्ञानबहादुर सुब्बा, हेमन्त राई र कैलाश थापा रहेका छन्।