नयाँ दिल्ली: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका सबै बन्धक मुक्त गर्न ‘अन्तिम चेतावनी’ दिएका छन्। बन्धकहरू रिहा नगरिए हमासका कोही पनि सुरक्षित नहुने ट्रम्पको भनाइ छ।
‘इजरायलका लागि म ती सबै कुरा पठाउँदै छु, जो उसलाई काम पूरा गर्नका लागि आवश्यक छन्। यदि मेरो कुरा मानेनन् भने हमासका एक जना सदस्य पनि सुरक्षित हुने छैनन्,’ ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेखेका छन्। यद्यपि ट्रम्पले इजरायललाई कस्तो प्रकारको सहयोग पठाउँदै छन् भन्ने स्पष्ट पारेका छैनन्।
ट्रम्पले सबै बन्धकलाई एकसाथ रिहा गर्नुपर्ने र मृतकका शव हस्तान्तरण गर्नुपर्ने बताएका हुन्। ‘सबै बन्धकलाई तत्काल रिहा गर, पछि हुँदैन र मृत्यु भएकाहरूको शव पनि तत्कालै फर्काऊ। नत्र सबै नष्ट हुनेछ,’ चेतावनी दिँदै ट्रम्पले लेखेका छन्।
हमासले बन्धक बनाएर मुक्त भएका ८ जनालाई ह्वाइट हाउसमा भेटेपछि ट्रम्पले हमासलाई चेतावनी दिएका हुन्। उनीहरू इजरायल र हमासबीचको युद्धविरामपछि रिहा भएका थिए। ट्रम्पले हमास नेतृत्वले अब गाजा छाड्ने समय आइसकेको पनि बताएका छन्। ‘गाजाका नागरिकका लागि एक सुन्दर भविष्यले कुरिरहेको छ। तर, अब तपाईंहरू बन्धकलाई राख्न सक्नु हुन्न। यदि मान्नु भएन भने तपाईंहरूको अन्त्य हुनेछ,’ उनले लेखेका छन्।