गान्तोक: शिक्षक दिवसको अवसरमा गान्तोकको बहाईहरूको स्थानीय आध्यात्मिक संस्थाको आयोजनामा सार्वजनिक मामिला समितिले बहाई स्कूल ताडोङको प्रांगणमा ‘मानवताको कल्याणका लागि शिक्षा’ विषयक प्रवचन आयोजना गरेको थियो। स्कूलका प्राचार्य रुपादेवी शर्माले आफ्नो स्वागत मन्तव्यमा यस अवसरको सदुपयोग गर्दै बौद्धिक, कलात्मक, सामाजिक तथा नैतिक र आध्यात्मिक शिक्षा दिनको लागि व्यवस्थित र दिगो प्रयास गर्न शिक्षक र अभिभावक दुवैले खेल्नुपर्ने महत्वपूर्ण भूमिकालाई चिन्तन गर्ने बताए। छलफलल ‘व्यक्तिगत र सामाजिक रूपान्तरण’, ‘बालबालिकाको वास्तविक क्षमताको अनुभूति’ गर्ने माध्यमको रूपमा आध्यात्मिक शिक्षाको आवश्यकता, शिक्षाको दोहोरो नैतिक उद्देश्य, ‘व्यक्तिगत र सामाजिक रूपान्तरण’ जस्ता शैक्षिक प्रक्रियाका लागि धेरै महत्त्वपूर्ण अवधारणाहरूमा केन्द्रित थियो।

यस वार्ता सभाले बालबालिकाको व्यक्तिगत सशक्तिकरण मात्र नभई समाजको विघटनकारी संरचना र प्रक्रियाहरूको सामूहिक रूपान्तरणलाई सुनिश्चित गर्ने शिक्षाको प्रवर्द्धन गर्न कार्यमा संलग्न हुनुको महत्त्वबारे सहभागीहरूलाई चेतना जगाउने उद्देश्य राखेको थियो। सहभागीहरूमा शिक्षाविद्, अभिभावक र विद्यालयका प्रमुखका साथै गान्तोकका शैक्षिक संस्थाका शिक्षकहरू थिए।