झापा: झापाको मेचीनगर नगरपालिकामा चरा पर्यटनको सम्भावना देखिएको छ। चरा प्रेमीका लागि मेचीनगर ठुलो केन्द्र बन्न सक्ने बताइएको छ। आउँदो वर्षलाई कोशी प्रदेश सरकारले पर्यटन वर्षका रूपमा घोषणा गरिसकेको छ।
चराको खोज र अनुसन्धान गर्दै आएका देवेन्द्र खरेलले मेचीनगरमा फेरि एउटा नयाँ चरा फेला परेको बताए। उनले मेचीनगरमा भेटिएको नयाँ चरा नेपालकै लागि नयाँ रेकर्ड भएको दाबी पनि गरे ।
२०८१ फागुन ७ (फरबरी १९) मा बिहान ८ः३० बजे काँकडभिट्टाको एक बगैचामा ‘बैजनी बुङ्गे चरा’ को जोडीको पहिलो तस्बिर र भिडियो खिचेर पुष्टिका लागि नेपाल बर्ड रेकर्ड कमिटीमा पठाइएको थियो। कमिटीले यसको पुष्टि गरेको खरेलले बताए। यससँगै नेपालमा पाइने चराको सङ्ख्या अब ८९८ पुगेको छ।
‘बैजनी बुङ्गे चरा’ नामको नयाँ प्रजातिको चरा फेला परेको उहाँको दाबी छ। यसको अङ्ग्रेजी नाम ‘पर्पल रम्प सनबर्ड’ भएको उनले जानकारी दिए। मेची चरा तथा वन्यजन्तु संरक्षण समाज गठन गरेर चरा संरक्षणमा लागेका खरेलले यसभन्दा अघि ‘हरित परेवा’ नयाँ चरा फेला पारेका थिए।
“भारतसँग सीमा जोडिएको झापाको मेचीनगर चराको प्रमुख केन्द्रका रूपमा विकास गर्न सकिने अवस्था छ,” खरेलले भने। चराविद् देवेन्द्र खरेलले नेपालबाट लोप भइसकेको ठानिएको ‘हङरायो’ नामक दुर्लभ चराको तस्बिर र भिडियोसमेत खिचेका छन्l